जनकपुरधाममा जसपा नेपालको विरोध प्रदर्शन

प्रतिमा राई, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले जनकपुरधाममा सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ। मंगलबार जनक चोकमा सडक अवरुद्ध गर्दै गरिएको प्रदर्शनमा कार्यकर्ताहरूले “ओली सरकार मुर्दावाद”, “झुटो मुद्दा खारेज गर”, “गौर हत्याकाण्डका मुख्य योजनाकार प्रभु साहलाई कारबाही गर” लगायतका नारा लगाएका थिए।

जसपा नेपालका मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक एवम् प्रदेश सभा सदस्य रामअशिष यादवका अनुसार भूमि अध्यादेशको पक्षमा जसपाले समर्थन नगरेपछि सरकारले षड्यन्त्रपूर्वक अध्यक्ष उपेन्द्र यादवलाई गौर हत्याकाण्डमा फसाउने प्रयास गरेको हो। उनले भने, “अध्यक्ष यादवले पिछडिएका समुदायको अधिकारका लागि आवाज उठाइरहेका बेला ओली सरकारले उनलाई समाप्त पार्ने खेल खेलिरहेको छ।”

सरकारले अध्यक्ष यादवविरुद्धको मुद्दा फिर्ता नलिए अझ सशक्त आन्दोलन गर्ने चेतावनी पनि प्रमुख सचेतक यादवले दिएका छन्।

यसैबीच, गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतको न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले सोमबार परमादेश दिएको छ। ०६३ चैत ७ गते रौतहटको गौरमा मधेशी जनअधिकार फोरम र माओवादीबीच कार्यक्रम गर्ने क्रममा भएको झडपमा २८ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस्