दीक्षा राई,
ताप्लेजुङ ।
नेकपा (एमाले) का केन्द्रीय सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश कुमार भट्टराईले ताप्लेजुङमा आएका ठूला विकास आयोजनाहरूलाई अवरोध गर्न नहुने बताएका छन्। आइतबार प्रेस चौतारी नेपाल, ताप्लेजुङले फुङलिङमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्तो धारणा राखेका हुन्।

पूर्व मन्त्रीसमेत रहेका भट्टराईले हाइड्रोपावरदेखि केबलकारसम्मका निजी लगानीका परियोजनाहरूलाई सहज बनाउन सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औंल्याए। “हामी नागरिक र जनताको पक्षमा छौं, तर विकासका नाममा कसैको अधिकार कुण्ठित हुन दिन्नौं। तर पनि जातीय, पहिचान वा राजनीतिक रङ चढाएर विकासलाई रोक्नु हुँदैन,” भट्टराईको भनाइ थियो।

उनका अनुसार आगामी भदौ र असोज महिनाभित्रै ठेक्का प्रक्रिया सुरु गर्ने तयारी सरकारले गरेको छ। विगतमा ढिला–सुस्तीका कारण धेरै आयोजना अलपत्र परेकाले अब भने समयमै ठेक्का प्रक्रिया अघि बढाइने उनको भनाइ छ। “काम नगर्ने ठेकेदार कम्पनीलाई रद्द गरेर कालो सुचीमा राखिनेछ,” उनले चेतावनी दिए।

यतिबेला जिल्लामा दुई ठूला आयोजनाले विवाद निम्त्याइरहेका छन्। पाथिभरा मन्दिरमा निर्माणाधीन केबलकार र अप्पर तमोर जलविद्युत आयोजना स्थानीयवासीको विरोधमा रोकिएका छन्। स्थानीयहरूले मुन्धुमी क्षेत्र अतिक्रमण भएको र सांस्कृतिक पहिचान मेटिने भन्दै आन्दोलन चर्काइरहेका छन्।

भट्टराईले भने स्थानीयको अधिकार सुरक्षित गर्दै पनि विकासलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन्।


प्रतिक्रिया दिनुहोस्