प्रतिमा राई, काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारी गरेका छन्। दुवै दलका सांसदहरू हस्ताक्षर अभियानमा जुटिरहेका छन्।एमालेका सांसदहरूले मंगलबार बिहानदेखि सिंहदरबारस्थित संसदीय दल कार्यालयमा हस्ताक्षर अभियान सुरु गरेका छन्। त्यस्तै, नेपाली कांग्रेसका सांसदहरूलाई दिउँसो २ बजेसम्म उपस्थित भएर हस्ताक्षर गर्न भनिएको छ।कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा मंगलबार बिहानै पदाधिकारी र पूर्वपदाधिकारी बैठक बसेको छ। बैठकमा उपसभामुखलाई पदमुक्त गर्नेबारे छलफल भएको बताइएको छ। यसअघि सोमबार साँझ प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति देउवासहित शीर्ष नेताहरूबीच बालुवाटारमा कुराकानी भएको थियो। बैठकमा उपसभामुख राना मगरको आचरणअनुकूल काम नभएको भन्दै पदमुक्त गर्नुपर्नेमा सहमति बनेको स्रोतले जनाएको छ। गत वर्ष उपसभामुख राना मगरले अमेरिकी दूतावासमा भिसा सिफारिस गर्दै पत्र पठाएको विवादमा तानिएकी थिइन्। त्यसबेला पनि सांसदहरूले राजीनामा दिनुपर्ने आवाज उठाए पनि विषय ओझेलमा परेको थियो। संविधानको धारा ९१ अनुसार, सभामुख वा उपसभामुखले पदअनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभामा दुई तिहाइ बहुमतले पारित भएमा पद रिक्त हुने व्यवस्था छ। यही आधारमा कांग्रेस र एमालेले सरकारमा रहेका अन्य दलहरूसँग सहकार्य गरेर दुई तिहाइ बहुमत जुटाउने तयारी गरेका हुन्। प्रस्ताव पेस भएपछि सात दिनभित्र प्रतिनिधि सभा बैठकमा छलफल हुने व्यवस्था छ। उपसभामुख इन्दिरा राना मगर भने अहिले अमेरिका भ्रमणमा छिन्। उनी भदौ १३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ। विदेशमै रहँदा पदमुक्त गर्ने तयारी भइरहेको जानकारी पाएपछि उनले रास्वपा नेताहरूसँग सम्पर्क गर्दै राम्रो सन्देश नजाने बताएका छन्।स्रोतका अनुसार उपसभामुख अब नेपाली कांग्रेसले लिनेछ भने, प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति एमालेले पाउने समझदारी भएको छ।