काठमाडौं । ३१औं विश्व आदिवासी दिवस (अगस्ट ९) को अवसरमा याक्थुङ लिम्बु मुन्धुम सम्बन्धी एक दिने विशेष विमर्श कार्यक्रम काठमाडौंमा हुने भएको छ । ईस्ट ब्लक सेन्टरको आयोजनामा, नवीन वनेम लिम्बुको संयोजनमा यो कार्यक्रम आज साउन २४ गते (शनिवार) अनामनगरस्थित युनियन हाउसमा आयोजना गरिएको हो ।कार्यक्रममा प्राज्ञ अमर तुम्याहाङ, डा. युवराज लिम्बु, डि.बी. आङबुङ, डा. क्षितिज लिम्बु, प्रा. लिला चेम्जोङ, यासेली योङहाङ, प्रा. लिला लुङगेली लगायतका विज्ञ तथा शोधकर्ताहरूको सहभागिता रहनेछ । विमर्शमा याक्थुङ लिम्बु समुदायले अभ्यास गर्दै आएको ‘मुन्धुम दर्शन’ सम्बन्धी विभिन्न आयामहरूमा बहस र छलफल हुनेछ । सहभागीहरूका अनुसार, मुन्धुमसँग सम्बन्धित प्राज्ञिक, काव्यात्मक तथा विधिशास्त्रीय दृष्टिकोण प्रस्तुत गर्नुका साथै यसको ज्ञानसत्ता, आधुनिक जीवनशैलीमा यसको प्रभाव र सामना गर्नुपर्ने चुनौतीहरूबारे चर्चा गरिनेछ ।साथै, याक्थुङ लिम्बु समाजमा मुन्धुम अभ्यासक्रमको वर्तमान अवस्था, समाज विकासक्रममा देखिएका मातृसत्ता, पितृसत्ता तथा आदिसत्ता जस्ता संरचनासँग मुन्धुमको सम्बन्धबारे पनि विश्लेषणात्मक बहस हुने आयोजकले जानकारी दिएका छन् ।