फक्ताङलुङ गाउँपालिका इखाबुका पहिरो पीडितलाई राहत वितरण प्रकाशित मिति : 11 September, 2023 6:52 pm ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–४ इखाबुका पहिरो पीडित परिवारलाई राहत वितरण गरिएको छ । शनिबार वर्षासँगै गएको पहिरोका कारण घर क्षतिग्रस्त भएका दुई र जोखिममा परेका ७ परिवारलाई सोमबार राहत सामग्री वितरण गरिएको हो ।फक्ताङ्लुङ गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङले पहिरोले घर क्षतिग्रस्त भई विस्थापित भएका बिरहाङ लिम्बू र भक्तबहादुर लिम्बूको परिवार र अन्य आंशिक क्षति भएका ७ गरि नौ परिवारलाई राहत सामग्री वितरण गरेको हो ।घर पूर्णरुपमा क्षति भएका दुई परिवारलाई ५० किलोग्रामका दरले चामलसहितका खाद्यान्न सामग्री र एक–एक थान त्रिपाल वितरण गरिएको छ ।रेडक्रस सोसाइटीले पनि पहिरोमा घर गुमाएका दुई परिवारलाई भाँडा वर्तन, लत्ताकपडालगायतका सामग्री वितरण गरेको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)े जानकारी दिनुभयो ।यस्तै, घर उच्च जोखिममा परेका दिलीप लिम्बू, रामकुमार लिम्बू, चैतन्य लिम्बू, आर्यन लिम्बू र मकरध्वज लिम्बू तथा जोखिममा परेको सुशील लिम्बू र धनवीर लाबुङको परिवारलाई गाउँपालिकाको तर्फबाट एक–एक थान त्रिपाल उपलब्ध गराएको अध्यक्ष लिम्बुले जानकारी दिनुभयो । पहिरो पीडित परिवारलाई प्रभावित क्षेत्रमै पुगेर गाउँपालिका अध्यक्ष लिम्बूसहितको टोलीले राहत सामग्री वितरण गरेको जनाइएको छ ।गाउँपालिका अध्यक्षका स्वकीय सचिव दिल कुमार लिम्बुका अनुसार इसाई समाज फक्ताङ्लुङ गाउँपालिकाले पनि दुई परिवारलाई ३० किलोग्रामका दरले चामल वितरण गरेको छ ।