ताप्लेजुङ सरोकार केन्द्रद्वारा मैवाखोलाका पहिरो पीडितलाई राहत रकम वितरण प्रकाशित मिति : 5 August, 2023 6:43 pm ताप्लेजुङ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले मैवाखोला गाउँपालिकाका पहिरो पीडितलाई राहत रकम वितरण गरेको छ । शनिबार पालिकाको साँघु स्थित मदन भण्डारी रङ्गशालामा निर्माण गरि रहेको एकीकृत बस्तीमा पुगेर २ लाख एक हजार रुपैयाँ राहत रकम वितरण गरेको हो । गाउँपालिका अन्तरगतको स्थानीय विपद व्यवस्थापन कोषले बस्ती नै स्थानान्तरणको लागि कार्य गरि रहेकोले कोषलाई एकमुष्ठ रकम हस्तान्तरण गरिएको सरोकार केन्द्रका अध्यक्ष टंक श्रेष्ठले जानकारी दिए । केन्द्रका अध्यक्ष श्रेष्ठ गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेम, उपाध्यक्ष कमल कुमारी लिम्बू, एक नम्बर वडा अध्यक्ष चन्द्र तामाङ, वडा ३ को अध्यक्ष खगेन्द्र थत्लुङ, ४ नम्बर वडा अध्यक्ष फुर्वा शेर्पा, पुर्ब वडा अध्यक्ष दिवस चोङ्बाङ, केन्द्रका महासचिव सन्तोष मादेन, उप महासचिव एवम् राहत सहयोग सङ्कलन समितिका संयोजक मिङमा डण्डु लामा, सदस्य अनिल खड्का एवम् समाजसेवीहरुको उपस्थितिमा वितरण गरिएको हो। असार २ गते आएको वर्षा पछिको पहिरोले मैवाखोला गाउँपालिकाको वडा नम्बर ४ ओदकका ६४ परिवार र ताम्राङको एक गरि कुल ६५ परिवार उच्च जोखिममा परेका थिए । उक्त ६५ परिवारलाई मैवाखोलाले सुरक्षित राख्नको लागी बस्ती नै स्थानान्तरण गर्न निर्माणाधीन मदन भण्डारी रङ्गशालामा अस्थाई घर बनाई रहेको छ । गाउँपालिकाले शनिबारसम्म ५१ वटा घर बनाई सकेको पालिका अध्यक्ष वनेमले जानकारी दिए । यश अघि सरोकार केन्द्रले बिहीवार सिदिङ्वा गाउँपालिकाका पहिरो पीडितलाई ८ लाखा ६७ हजार रुपैयाँ र शुक्रबार सिरिजङ्घा गाउँपालिका ५ लाखा ८१ हजार रुपैयाँ रकम हस्तान्तरण गरेको थियो ।