फक्ताङलुङका उत्कृष्ट शिक्षक,विधार्थी र विद्यालयलाई पालिकाको सम्मान प्रकाशित मिति : 4 June, 2023 8:37 pm ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले उत्कृष्ट शिक्षक,विधार्थी एव्म उत्कृष्ट विद्यालयलाई सम्मान गरेको छ । शनिबार गाउँपालिकाले पालिका भित्रका उत्कृष्ट कार्य सम्पादन गर्ने शिक्षक,विधार्थी साथै विद्यालयलाई एक कार्यक्रम गर्दै नगद,सम्मान पत्र र दोसल्लाले सम्मान गरेको हो । पालिकाले उत्कृष्ट शिक्षकको रुपमा गणेश प्राथमिक विद्यालयकी चन्द्र कार्की थापा,सावित्री आधारभूत विद्यालयका मिङ्मा ठिले शेर्पा, महेन्द्र आधारभूत विद्यालयकी समीक्षा ढुङ्गाना,सरस्वती आधारभूत विद्यालयका राज कुमार राई,सेवालुङ माविकी सरस्वती लिम्बु, सरस्वती माविका विप्लव भट्टराईलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको पालिका अध्यक्ष राजन लिम्बु (मुक्ति )ले जानकारी दिए । उनका अनुसार अझै काम गर्न प्रोत्साहन गर्ने उद्देश्यले पालिकाले उत्कृष्ट प्रधानाध्यापकको रुपमा रानी आधारभूत विद्यालयका प्रेम खतिवडा, सरस्वती मा.वि.का चन्द्रमणी लिम्बु, सुनदेवी मा.वि.का विशाल राई, सिंवा मा.वि.का ओमनाथ गौतमलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरेको हो । त्यस्तै उत्कृष्ट विधार्थीको रुपमा कक्षा ८ बाट उत्कृष्ट हुने रानी आधारभूत विद्यालयका बिनिता तामाङ र टेकहाङ लाबुङलाई समान २० हजार नगद सहित सम्मान पत्रले सम्मान गरेको छ । त्यस्तै कक्षा १० बाट उत्कृष्ट हुने सिंवा मा.वि.का सामना चौलागाईँ र सरस्वती मा.वि.का विकेन्द्र लिम्बुलाई समान २५ हजार नगद सहित सम्मान पत्रले सम्मान गरिएको छ भने कक्षा १२ बाट उत्कृष्ट हुने सिंवा मा.वि.का धन कुमार पौडेल र प्रदिप लिम्बुलाई समान ३० हजार नगद सहित सम्मान पत्रले सम्मान गरिएको उपाध्यक्ष विकास लिम्बु (रविन )ले जानकारी दिए । साथै उत्कृष्ट विद्यालयको रुपमा रानी आधारभूत विद्यालय–फक्ताङ्लुङ–४ इखाबु (खानी) लाई सम्मान पत्रले सम्मान गरिएको पालिकाले जनाएको छ । गुणस्तरीय शिक्षा प्रदान गर्न पालिकाले प्रोत्साहन गर्ने उद्देश्यले वर्षभरी उत्कृष्ट कार्य सम्पादन गर्ने शिक्षक,विधार्थी र विद्यालयलाई सम्मान गरिएको साथै यो कार्यक्रमलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिईने उपाध्यक्ष साम्राले बताए । पालिकाले गुणस्तरी शिक्षा प्रदान गर्न नियमित रुपमा अनुगमन गर्नुका साथै विभिन्न योजना बनाएर काम गर्दै आएको छ ।