मैवाखोलाका दुई विद्यालयमा शैक्षिक संस्थान स्वचालन प्रणाली जडान प्रकाशित मिति : 25 May, 2023 5:22 pm ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले नमुना माध्यमिक विद्यालयको रुपमा विकास भई रहेका २ वटा विद्यालयहरुमा बिहिबार शैक्षिक संस्थान स्वचालन प्रणाली जडान गरेको छ । शैक्षिक क्षेत्रको सुधारका लागि पालिकाको नारायणी माध्यमिक विद्यालय र मैवाखोला माध्यमिक विद्यालयमा शैक्षिक संस्थान स्वचालन प्रणाली जडान गरिएको पालिका अध्यक्ष विजय प्रकाश वनेमले बताएका छन् । वनेमका अनुसार शैक्षिक संस्थान स्वचालन प्रणालीले विद्यालयका सुचना सम्बन्धित व्यक्ति समक्ष एसएमएस मार्फत पठाउनेछ, कर्मचारी व्यवस्थापन, विद्यालय क्यालेन्डर व्यवस्थापन, अभिभावक व्यवस्थापन, पुस्तकालय व्यवस्थापन गर्ने छ । त्यस्तै हाजिरी व्यवस्थापन,विद्यार्थीहरुको दर्ता व्यवस्थापन, तलब व्यवस्थापन, परिक्षा व्यवस्थापन, शुल्क व्यवस्थापन, खर्च व्यवस्थापन, लेखा व्यवस्थापन, अनुसाशन व्यवस्थापन, विभिन्न प्रमाणहरुको व्यवस्थापन, प्रतिवदेन साथै विभिन्न शैक्षिक चार्ट व्यवस्थापन गर्ने पालिकाले जनाएको छ । सो शैक्षिक संस्थान स्वचालन प्रणाली क्रमश पालिकाका सबै विद्यालयमा जडान गर्दै जाने समेत अध्यक्ष वनेमले बताएका छन् । सम्बन्धित तस्वीरहरु हेर्नुस: