डोको क्यारीको उपाधि रमेश लिम्बूलाई प्रकाशित मिति : 8 April, 2023 5:45 pm देबेन्द्र बानियाँ ताप्लेजुङ। मंगलबार बाट सुरु भएको दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेला साथै प्रदेशस्तरीय अर्गानिक महोत्सव अन्तर्गत डोको क्यारी रनको उपाधि फक्ताङ्लुङ गाउँपालिका वडा नं. ३ लिङ्खिमका रमेश लिम्बू जितेका छन् । उनले १ घण्टा ४ मिनेट ३१ सेकेन्ड मा निर्धारित दूरी पार गर्दै प्रथम भएका हुन् । प्रथम भएका लिम्बूले प्रमाण पत्र सहित ३० हजार प्राप्त गरेका छन् । त्यस्तै दोस्रो स्थान मैवाखोला गाउँपालिका ६ का प्रकाश लिम्बू भएका छन् । उनले निर्धारित समय १ घण्टा ४ मिनेट ४४ सेकेन्डमा दूरी पार गर्दै दोस्रो स्थान हासिल गर्न सफल भएका छन् । दोस्रो भएका लिम्बूले प्रमाण पत्र सहित २० हजार प्राप्त गरेका छन् । यस्तै फकतङ्लुङ गाउँ पालिका २ का छात्र बहादुर कार्कीले १ घण्टा ५ मिनेट २० मा दूरी पार गर्दै तेस्रो भएका छन् । उनले प्रमाण पत्र सहित नगद रु १० हजार प्राप्त गरेको घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले जानकारी दिएका छन् । पुरानो बैंक लाइन तथा खानेपानीको कार्यालय अघि बाट सुरु भएको दौड प्रतियोगिता बुढा चोक मादेन चोक उकाली पनि हुँदै सानो पाथीभरा सम्म र फेरि सानो पाथीभरादेखि सुरु गरेकै स्थानमा आएर सकेको थियो । ताप्लेजुङ पाँचथर सङ्खुवासभा र मोरङ जिल्लाका गरी जम्मा ४१ धावकहरूले दौडमा सहभागिता जनाएका थिए । जसमा १ महिलाको पनि सहभागिता रहेको आयोजकले जनाएको छ । स्थानीय स्तरमै आर्थिक सहयोग पुर्याउने लक्ष्य र उद्देश्य साथमा ताप्लेजुङमा यो मेला गत वर्ष बाट सुरु भएको हो । तस्बिरः सन्तोष पुर्कुटी\रासस