आत्मा बस्ने घर प्रकाशित मिति : 16 March, 2023 7:36 pm एलिना दियाली आत्मा बस्ने घर नाम्जे,धनकुटा । आत्मा बस्ने घर भन्ने वित्तिकै तपाईलाई सुन्दा अचम्म लाग्न सक्छ ? तर नेपालको धनकुटास्थित साँगुरिगढि गाउँपालिका ६ नाम्जेमा आत्मा बस्ने घर बनाईएको छ । गाउँपालिकाको ६ र ७ नम्बर वडामा मृत्यु भएका मगर जातिको पुर्खाहरुको ११३ वटा चिहानको ढुङ्गालाई संकलन गरी आत्मा सम्झिने ठाउँको रुपमा आत्मा बस्ने घर बनाईएको हो । मगर समुदायमा पहिले मलामि मात्रै जाने चलन भएको र लासलाई चिहान बनाएर राख्ने गरिन्थ्यो भने अहिले सम्पुर्ण मृत आत्माहरुलाई सम्झिने स्थलको रुपमा आत्मा घरको निर्माण गरिएको नाम्जे थुम्की सामुदायिक होम–स्टेका अध्यक्ष अनिल रानाको भनाई छ । अध्यक्ष रानाले भने,“आत्मा बस्ने घर भनेको पुर्खाहरुको स्मृति स्थल हो । सामुहिक चौतारा हो अरु खास केहिपनि होईन । मगरहरुको समाधिस्थल हो । पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नको लागि ति समाधिस्थलहरुलाई भत्काएर सामुहिक चौतारा बनाईएको हो । पहिला पहिला मान्छे मर्दा मलामी जान्थेउँ अहिले पर्यटकीय क्षेत्र भएको छ ।” समुद्रि सतहबाट १७७० मिटर उचाईमा रहेको नाम्जे गाउँमा ९७ प्रतिशत मगर जातिको बसोबास रहेको छ । तिनै मगर समुदायले उनिहरुकै पुर्खाहरुको चिहान भत्काएर आत्मा बस्ने घर बनाउन र पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न मञ्जुर भएसँगै २०६८ सालमा प्रसिद्ध अमेरिकन आर्किटेक्चर ईन्जिनियर ट्रभाईस प्राईसको टिमले १७ दिन लगाएर विश्वको १७ औँ अचम्मको घरको रुपमा आत्मा बस्ने घर बनाएका थिए । सोही वर्ष नाम्जे गाउँलाई समाचार संस्था सिएनएनले विश्वको १२ घुम्नै पर्ने गन्तब्य मध्ये ८ औँ गन्तब्यको रुपमा राखेको थियो । त्यससँगै आत्मा बस्ने घरकोे भ्रमण गर्न आउने पर्यटकको संख्यामा वृद्धि भएको होटल व्यवसायि सरिता राना मगर बताउँछिन् । उनले भनिन्,“ पहिले पर्यटकको चहल पहल थिएन । अहिले आत्मा घर हेर्नकै लागि पर्यटकहरु आउनु हुन्छ । आत्मा घरले होम स्टे साथै होटल व्यवसायलाई टेवा पुगेको छ ।” आत्मा बस्ने घर भित्र मगर जातिको चिहानहरुका ढुङ्गा भेला गरेर बनाईएको भएपनि आत्मा बस्ने घरमा अन्य जातिका व्यक्तिहरु पनि आएर बत्ति बाल्न साथै आत्मा घर हेर्नकै लागि पर्यटक आउने गरेको व्यवसायि राना मगरको भनाई छ । नाम्जे ग्रामिण जनता विद्यालयमा भारतका शिक्षक राजिब कुमार गोयल अध्यापनका लागि आएका थिए । भोलुन्टियर शिक्षकको रुपमा आएका गोयलले नाम्जेमा विभिन्न सामाजिक क्षेत्रमा काम गरि रहेको थिए । उनै गोयलको पहल र मगर समुदायसँगको सहकार्यमा ९ लाख लागतमा बनाईएको आत्मा बस्ने घर पछिल्लो समय पर्यटकको रोजाईमा पर्ने गरेको छ । भनिन्छ मान्छेको भौतिक शरिर मरेर गएपनि आत्मा अमर रहन्छ । मृत आत्मालाई घर नै बनाएर सम्झने कुरा नौलो भएकाले पनि आत्मा बस्ने घर पर्यटकको ध्यानमा परेको स्थानियको भनाई छ । आत्मा बस्ने घरको प्रवेश द्धार