भूकम्पबाट बच्न ताप्लेजुङमा कृत्रिम अभ्यास

ताप्लेजुङ । भूकम्प दिवसको अवसरमा ताप्लेजुङ जिल्ला विपत् व्यवस्थापन समितिको आयोजनामा भूकम्प सम्बन्धी कृत्रिम अभ्यास गरिएको छ। मंगलवार ताप्लेजुङ सदरमुकाम फुङलिङ स्थित भिमकाली गुल्ममा भूकम्प प्रकोप सम्बन्धी डेमो ( नमुना) प्रदर्शन गरिएको हो ।

मानव निर्मित अव्यवस्थित भौतिक पूर्वाधार संरचनाका कारण प्रकोपमा परि धेरै धनजनको क्षति हुने गरेको र प्राकृतिक प्रकोपले आफै कसैको क्षति नगर्ने बताउँदै मानिसले बनाएका अव्यवस्थित र असुरक्षित संरचनाका कारण क्षति हुँदै आएको प्रमुख जिल्ला अधिकारी महेश कुमार पोख्रेल बताए । साथै उनले भने,“भूकम्प आउँदा सबैले सावधानी अपनाउनुपर्छ, भूकम्प आइहाले टेबल तथा खाटमुनी बस्ने काम गर्नुहुँदैन, भौतिक संरचना भूकम्प प्रतिरोधात्मक बनाउनुपर्छ’ ।

कृत्रिम घटना अभ्यास अवलोकन गरेपछि प्राकृतिक प्रकोपको बारेमा धेरै जानकारी प्राप्त भएको अवलोकन गर्न आएकी सुकमाया लिम्बुले बताइन्। ‘भूकम्प गइहाले कसरी बँच्ने ,उनले भनिन्,‘नआत्तिकन प्रहरी लाई खबर गर्नुपर्ने रहेछ । एम्बुलेन्सलाई जानकारी गराउनुपर्ने रहेछ ।”

भूकम्पीय जोखिम न्यूनीकरण, प्रतिकार्य, पूर्व तयारी तथा सुरक्षित भवन निमार्ण लगायतका विषयमा प्रभावकारी प्रचारप्रसार र जानकारीका लागि दिवसको अवसरमा सदरमुकाम फुङलिङमा डेमो प्रदर्शन गरिएको सुरक्षा निकायले जनाएको छ। कार्यक्रममा बोल्दै नगर प्रमुख अमिर मादेनले डेमो प्रदर्शन कार्यक्रमले भुकम्पिय प्रकोपबाट जिल्लामा जनधनको क्षति न्युनिकरण गर्न सहयोग पुग्ने बताए ।

पहाडी तथा शहरी क्षेत्रमा भूकम्प जोखिम भएकाले स्थानीयहरुलाई सुसूचित गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जिल्ला विपत् व्यवस्थापन समिति ताप्लेजुङले जनाएको छ। विसं. १९९० माघ २ गते महाभूकम्प गएको थियो। सोही भूकम्पको सम्झनामा हरेक वर्ष माघ २ गते भूकम्पका बारेमा सचेतना गराउन यो दिवस मनाउँदै आइएको छ। आईतबार पोखरामा भएको एति एयरलाईन्सको विमान दुर्घटनाका कारण माघ २ मा सरकारले सार्वजनिक दिएका कारण माघ ३ गते मंगलबार भुकम्प दिवस मनाईएको हो ।


प्रतिक्रिया दिनुहोस्