ताप्लेजुङका देवराज गुरुङलाई ‘लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कार’ प्रकाशित मिति : 28 December, 2022 11:48 am ताप्लेजुङ । तमू (गुरूङ) सञ्चारकर्मी संघ, नेपाल (एट्जोन)ले रेडियो ताप्लेजुङका स्टेसन मेनेजर देवराज गुरुङलाई पुरस्कृत गरेको छ । उनी सँगै विभिन्न सञ्चार गृहमा आवद्ध अन्य ५ जना पत्रकारहरूलाई पनि पुरस्कृत गरिएको छ । हरेक वर्ष वितरण हुने ‘तमू पत्रकारिता पुरस्कार’बाट विभिन्न शीर्षकमा देशभरका ६ जना पत्रकार तथा सञ्चारकर्मीहरूलाई पुरस्कृत गरिएको हो । संघका अध्यक्ष रवीन गुरुङका अनुसार रेडियो ताप्लेजुङका स्टेसन मेनेजर तथा ग्यालेक्सी फोर के टेलिभिजनका संवाददाता देवराज गुरुङलाई ‘लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । यस्तै ‘छत्रमानसिंह-कमला गुरूङ पत्रकारिता पुरस्कार’ कान्तिपुर टेलिभिजनका भूपाल गुरूङ (कास्की) र एभरेष्ट एफएमका दीपेन्द्र श्रेष्ठ (पोखरा)लाई प्रदान गरिएको छ । यो पुरस्कार जनही २० हजार एक राशिको हो । यस्तै ‘भद्रकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कार’बाट टिभी कालिकाकी गीता गुरूङ (चितवन)लाई पुरस्कृत गरिएको छ । तमू ल्होसार मूल आयोजक समितिले उपलब्ध गराउँदै आएको ‘तमू पत्रकारिता पुरस्कार पुरस्कार’ भने बिएफबिएस रेडियोका धनजंग गुरुङ (काठमाडौं)लाई प्रदान गरिएको छ । ‘तमू आदिकवि हर्क गुरुङ स्मृति पुरस्कार’ मुकुन्दसेन टेलिभिजनकी शीला गुरूङ (नवलपुर)लाई प्रदान गरिएको छनौट समितिका संयोजक गुरुङले जानकारी दिए । शीलाले पाउने पुरस्कार भने माघ ११ गते स्याङ्जामा हुने कार्यक्रममा प्रदान गरिने संघका केन्द्रीय सचिव चित्र ‘सोल्टी’ गुरूङले जानकारी दिए । कास्कीका गुरुङ र श्रेष्ठबाहेक बाँकी सबैले पाएको पुरस्कारको राशि भने जनही १० हजार एक रुपैयाँको हो । पुरस्कृत व्यक्तिहरूलाई आदिवासी जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरुङमार्फत पुरस्कारको राशि र सम्मानपत्र प्रदान गरिएको हो । प्रमुख अतिथि गुरुङले तमू पत्रकारको लागि पुरस्कार स्थापना गरिदिने उद्घोष गरेका छन् । कार्यक्रममा तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय अध्यक्ष कर्णबहादुर गुरुङ वशिष्ठ अतिथि रहेका थिए ।