पत्रकार महासङ्घ ताप्लेजुङको १०औं साधारण सभा सम्पन्न, दुई जनप्रतिनिधि सम्मानित प्रकाशित मिति : 15 December, 2022 10:01 pm साहारा लङ्वा (लिम्बू) ताप्लेजुङ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा ताप्लेजुङको १० औं साधारण सभा सम्पन्न भएको छ । आज ताप्लेजुङको मेवाखोला हिल रिसोर्टमा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य योगेश कुमार भट्टराईको प्रमुख आतिथ्यमा उक्त साधारण सम्पन्न भएको हो । सभाको विशिष्ट अतिथिको रुपमा नव निर्वाचित प्रदेश सभा सदस्य खगेन सिं हाङ्गाम र प्रमुख जिल्ला अधिकारीको उपस्थिति रहेको थियो । यस्तै अतिथिका रुपमा नेपाल पत्रकार महासङ्घका प्रदेश उपाध्यक्ष्य लपदेब ढुङ्गाना, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन साथै विभिन्न राजनीति दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि र ताप्लेजुङभरका पत्रकारहरूको उपस्थिति रहेको थियो । सभामा दुई जना जनप्रतिनिधिलाई सम्मान गरिएको छ । गत बैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट आठराई त्रिवेणी गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएकी ताप्लेजुङकी अग्रज पत्रकार शान्ता आङ्बुहाङ र फुङ्लिङ नगरपालिका वडा नं।२ का वडा सदस्यमा निर्वाचित लिला चक्र गुरुङलाई सम्मान गरिएको हो । आङबुहाङ जनप्रतिनिधि हुन अघि नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य थिइन् भने गुरुङ अग्रज पत्रकार हुन् । साथै नेपाल पत्रकार जिल्ला शाखाबाट उनीहरूलाई औपचारिक रुपमा बिदाई गरिएको घोषणा पनि गरिएको छ । उक्त सभालाई सम्बोधन गर्दै नव निर्वाचित प्रतिनिधि सभा सदस्य योगेश कुमार भट्टराईले छोटो समयमै ताप्लेजुङमा पत्रकारिता क्षेत्रले उल्लेख्य प्रगति गरेको बताए । संख्यात्मक हिसाबले मात्र नभइ पत्रकारिता क्षेत्रमा चाहिने व्यावहारिकता र गुणात्मकताका पक्षमा पनि ताप्लेजुङले प्रसंसनिय प्रगति गरेको छ । यस्तै सभालाई सम्बोधन गर्दै नव निर्वाचित ताप्लेजुङ क्षेत्र नं. २ का प्रदेश सभा सदस्य खगेन सिं हाङगामले प्रदेशमा हिजो ५ वर्षको अभ्यासमा बन्न नसकेका कार्यहरूलाई पुरा गर्न पहल गर्ने बताएका छन् । यस्तै पत्रकारहरूको दोस्रो आखा क्यामराका ढकनहरु बन्द हुन नहुने बताए । यस्तै फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनले पत्रकारलाई मुलुकको चौथो आखाको रुपमा हेर्न सकिने बताए । त्यसैले हरेक जिल्ला भित्र रहेका अन्यायमा परेका ठाउँहरूमा पनि पत्रकारको नजर पुग्न जरुरी रहेको बताए । सभामा महासङ्घको सांगठनिक र आर्थिक प्रतिवेदन पनि पेश गरिएको थियो । कार्यक्रमको सभाध्यक्ष नेपाल पत्रकार महासङ्घका अध्यक्ष आनन्द गौतमले गरेका थिए ।