ललितपुर–३ को चुनावी रिर्पोटिङ प्रक्षेपण, यसपटक पनि पम्फाको जित सुनिश्चित

रामहरि कार्की
ललितपुर ।
चुनावी रिर्पोटिङको क्रममा पछिल्ला १५ दिनयता हामी लगातार ललितपुरको निर्वाचन क्षेत्र नम्बर ३ लाई पछ्याइरहेका छौं । सोही क्रममा सोमबार र मंगलबार हामी स्थलगत रूपमै ललितपुरका केही ठाउँहरूमा पुग्यौं। समाचारको लागि हामीले केही स्वतन्त्र र सामान्य घरधुरीका मानिसलाई केन्द्रमा राखेर रिर्पोटिङ गर्यौं।
चुनावी प्रक्षेपणको लागि हामीले २५ जना व्यक्तिलाई सोधेका थियौं । ललिपुरको सुनाकोठी, बुङमती, खोकना, भैसेपाटी, एकान्तकुना, जावलाखेल, लगनखेल, सातदोबाटोलगायत क्षेत्रका स्थानीयलाई हामीले प्रश्न गरेका थियौं। हामीले सोधेका मध्ये धेरैले पुरानै उम्मेदवारको पक्ष लिए। यसअघिको कार्यकालमा राम्रो काम गरेको र ललितपुरको समस्यामा केन्द्रित भएको भन्दै अधिकांशले पम्फा भुसाललाई नै भोट दिने बताए। हामीले सोधेका २५ जनामध्ये २१ जनाले पम्फाकै नाम लिए । अन्य दुई जनाले तोसिमा कार्की र दुई जनाले एमालेका अमृत खड्कालाई भोट दिने बताए ।
हामीले सोधेको क्षेत्र नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नेपाली काङ्ग्रेस र स्वतन्त्र भोट बढी भएको क्षेत्र पनि हो । नमुनाको रूपमा केहीलाई सोध्दा अधिकांशले पम्फाकै पक्षमा भोट दिने बताए । ‘अघिल्लो कार्यकालमा पनि उहाँले प्रभावकारी काम गर्नुभयो, यो पटक पनि राम्रै काम गर्नुहुन्छ भन्ने लागेको छ, हामीले भोट भुसाललाई नै दिने हो,’ सुनाकोठीका इन्द्र महर्जनले सुनाए । बुङमतीका राजु महर्जनको पनि तर्क उही थियो । अघिल्लो कार्यकालमा भुसालले आफूहरूका समस्या समाधान तथा भुकम्पपछिको पुनर्निर्माणमा सघाएकोले उनैलाई भोट हाल्ने बताए ।

विभिन्न मतदातालाई पछ्याउँदै मंगलबार विहान हामी भैसेपाटी हुँदै सानेपा आइपुग्यौं । सानेपा क्षेत्र तोसिमा कार्की बसोबास गर्ने क्षेत्र पनि हो । तर यो क्षेत्रका अधिकांश मतदाताले पनि भुसाललाई नै भोट दिने हामीलाई बताए । ‘हामीले मन फेर्दैनौँ, विगतमा जसलाई भोट दिएका थियौं उसैलाई दिने हो,’ सानेपा चोक नजिकैका श्याम मालीले भने, ‘नराम्रो गरेको भए पो अर्कालाई भोट दिनु, पहिला जितेकै उम्मेदवारलाई यसपटक पनि जिताउने पक्षमा हामी छौं ।’
त्यहाँबाट हामी जावलाखेल क्षेत्रमा आयौं । यस क्षेत्रका केही मतदाताको राय बुझ्न खोेज्यौं । यहाँ हामीले चार जनालाई सोधेका थियौँ । त्यसमध्ये तीन जनाले गठबन्धनकी उम्मेदवार भुसाललाई नै मत दिने बताए । ‘अघिल्लो पटक पनि हामीले पम्फा भुसाललाई भोट दिएको हो, यसपटक पनि मन फेरिन्न,’ जावलाखेलका सुरज थापामगरले भने ।
झण्डै तीन दशकदेखि ललितपुरमा रहेर राजनीतिकर्म गर्दै आइरहेकी पम्फा भुसाल यसपटक पनि प्रतिनिधि सभाको उम्मेदवार बनेर चुनावी दौडमा लागेपछि त्यस क्षेत्रका स्थानीयले साथ दिएका छन् । उनीहरू स्वस्फुर्त ढङ्गले चुनाव प्रचारलाई सघाइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्