सिन्धुपाल्चोक १ मा मतदाताको रोजाइमा युवा उम्मेदवार सुबोध प्रकाशित मिति : 15 November, 2022 3:20 pm सिन्धुपाल्चोक २९ कार्तिक । देशैभर युवा र नयाँ अनुहारको पक्षमा बहस भइरहँदा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा उमेरले ४० वर्षका युवा उम्मेदवार माधव सापकोटा सुबोधु घर दैलोमा पुगेर मतदाताको माया बटुलिरहेका छन्।दुई दशकयता जिल्लामा निरन्तर राजनीति र समाजसेवामा सक्रिय सुबोधलाई उम्मेदवारका रूपमा पाउँदा सिन्धु १ का नागरिकले घर आँगनमा भव्य स्वागत गरेर विजयको शुभकामना दिए। जितेर गएपछि आफूहरूलाई नविर्सन आग्रह गरे। निर्वाचन क्षेत्रका गाउँ बस्तिहरूमा घरदैलो, मतदाता भेटघाट र कोँणसभाहरूमा मतदाताको कुरा सुन्ने उनको बानी मन पराएका छन्।लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार सुबोधले निर्वाचनमा केही मौलिक प्रयोग पनि गरेका छन्। जय नेपाल र अभिवादनको संयुक्त सम्बोधन, विपक्षी दल र उम्मेदवारलाई गाली नगर्ने, आफ्ना प्रतिबद्धता राख्नुअघि आम नागरिकको कुरा सुन्ने, संघीय सांसदको भूमिकाबारे स्पष्ट गर्दै गर्न सकिने कामको चर्चा गर्ने, स्पष्ट, सरल, छोटो र सिलसिलेवार भाषण गर्ने सुबोध कुशलताले सबैलाई आकर्षित गरेको छ।जनयुद्धकालीन राजनीतिक पृष्भूमिबाट हुर्किएका, पार्टीको पोलिटब्युरो सदस्य सुबोध हेडक्वाटरसँग सिधा सम्पर्क भएका युवा नेता हुन्। निर्वाचन क्षेत्र पलाँतीमा नेता मोहन बस्नेतको घरमा बास बसेपछि सञ्चारकर्मीहरूसँगको भेटमा उनले नेता कार्यकर्तालाई व्यवस्थित परिचालन र गठबन्धनलाई अझ कसिलो बनाउन लागिपरेको बताए। एक चरणको घरदैलो तथा मतदाता भेटघाट अन्तिम चरणमा पुग्दा आम नागरिकको मायाले आफू थप उत्सासिहत भएको उनको भनाइ छ।पहिलोपटक उम्मेदवारी दिएर चुनावमा होमिएका सुबोधसङ्ग १५ वर्षयता जिल्लाको निर्वाचन परिचालन र व्यवस्थापनको अनुभव छ। सभामुख अग्नि सापकोटाको २०६४, २०७० र २०७४ को चुनावमा परिचालन र व्यवस्थापनको जिम्मेवारी सम्हालेका सुबोध जिलामा सबै उमेर समूह, खासगरी युवामाझ लोकप्रिय छन्।नेता मोहन बस्नेतको अविभावकत्वमा समग्र सिन्धुपाल्चोकको विकास र समृद्धिको काम गर्ने उनको वचनबद्धता र चुनावी अभियानका क्रममा देखिएको उनको शालिनताले सुबोधप्रति मतदाता आकर्षित छन्। पाँच वर्ष पाँच मिनेट पनि विश्राम नगरी साझा प्रतिनिधिका रूपमा सेवक भएर काम गर्ने उनको संकल्पले सबै उमेर समूहका मतदाता हर्षित छन्।स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरूले पाएको मतका आधारमा प्रतिश्पर्धी उम्मेदवारभन्दा गठबन्धका साझा उम्मेदवार दोब्बर मतान्तरले अघि छन्। सिन्धुपाल्चोकमा लोकतान्त्रिक वाम गठबन्धन उदाहरणीय र कसिलो देखिएको छ।