मैवाखोला र आठराई त्रिवेणी गाउँपालिकामा नमुना मतदान कार्यक्रम सम्पन्न प्रकाशित मिति : 7 November, 2022 8:56 pm ताप्लेजुङ । जिल्ला निर्वाचन कार्यलय ताप्लेजुङको आयोजनामा पालिका स्तरमा भई रहेको निर्वाचन लक्षित नमुना मतदान अन्तरगत सोमबार मैवाखोला गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकामा पनि सम्पन्न भएको छ । मैवाखोला गाउँपालिकाको पालिका केन्द्रमा भएको नमुना मतदानमा ६९ जनाले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले बताए । उनका अनुसार प्रतिनीधि सभा प्रत्यक्षतर्फ ६७ मत सदर र २ मत बदर भएको थियो भने समानुपातिकतर्फ ६६ मत सदर र ३ मत बदर भएको छ । त्यस्तै प्रदेश सभा प्रत्यक्ष र समानुपातिक दुबैतर्फ समान ६७÷६७ मत सदर र २÷२ मत भएको बताईएको छ ।त्यस्तै आठराई त्रिवेणी गाउँपालिकाको स्वरस्वती माध्यमिक विद्यालय हाङपाङमा भएको नमुना मतदान कार्यक्रममा ४६ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यलय ताप्लेजुङले जनाएको छ । प्रतिनीधि सभा प्रत्यक्षतर्फ ४० मत सदर र ६ मत बदर साथै समानुपातिकतर्फ ४२ मत सदर र ४ मत बदर भएको जनाईएको छ । त्यस्तै प्रदेशसभा प्रत्यक्षतर्फ ४४ मत सदर र २ मत बदर साथै समानुपातिकतर्फ ४३ मत सदर र ३ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी खनालले बताए । मतदाता जागरण गर्दै आगामी मंसिर ४ गते हुने निर्वाचनमा बदर मतलाई कम गर्ने उद्देश्यका साथ जिल्ला निर्वाचन कार्यलय ताप्लेजुङको आयोजनामा भई रहेको नमुना मतदान कार्यक्रममा यस अघि सिरिजङघा, सिदिङवा,मिक्वाखोला र मेरिङदेन, फत्ताङलुङ गाउँपाकिलामा नमुना मतदान कार्यक्रम सम्पन्न भैसकेको छ ।यस्तै मंगलबार पाथीभरा याङ्वरक गाउँपालिका र बुधबार फुङलिङ नगरपालिकामा नमूना मतदान गर्ने गरी जिल्ला निर्वाचन कार्यालयले कार्यसूची बनाएको छ ।