राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको सालिक अनावरण गरिने प्रकाशित मिति : 6 November, 2022 2:01 pm गंगा लिङ्खिम ताप्लेजुङ । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको पूर्ण कदको सालिक अनावरण गरिने भएको छ । आज किरात धर्म दर्शनदाता महान समाज सुधारक १३८औं जन्म जयन्ती मूल समारोह समितिले पत्रकार महासंघ ताप्लेजुङ शाखाको सभाहलमा पत्रकार सम्मेलन गर्दै उक्त अनावरण कार्यक्रम फुङलिङ ताप्लेजुङमा गरिने जानकारी गराएको हो । महागुरु फाल्गुनन्दले फुङलिङमा पटक पटक पदापर्ण गरेकाले उनको सालिक अनावरण उनको १३८औं जन्म जयन्तीको अवसरमा फुङलिङमा नै गर्ने कार्यक्रम तय गरिएको समारोह समितिले जनाएको छ । सालिक अनावरण सँगै किरात हाङसाम माङहिम समुद्घाटन साथै माङसावा भवन अवलोकनको कार्यक्रम पनि रहेको समितिले जनाएको छ । समारोहको लागि सम्पूर्ण तयारी सकिएको जानकारी गराउँदै कार्तिक २१ गते काङवामा यङधङ काबेलीमा साक्मुरा वादेम्मा गालीश्राप बगाउने तथा सावा येत्कोक्मा सावायेत्तरक सेवा पूजाको कार्यक्रम तय गरिएको समितिले जनाएको छ । कार्तिक २२ गत भने किरात हाङसाम माङहिममा विश्वशान्ति मानव एकता सकल प्राणी रक्षार्थको निमित येत् नाम्धुङ् सावायेत्हाङ सेमिसेवाको आयोजना गरिएको छ । यस्तै कार्तिक २३ र २४ गते बिहान ८ बजे सम्म नाम्धुङ् लाधुङ् सेमिसेवा साथै दिनमा मूल समारोहको कार्यक्रम तय गरिएको छ भने मूल समारोह कार्यक्रम भने कार्तिक २५ गतेको दिनलाई तय गरिएको समितिले जनाएको छ ।