बेलाबेला यस्तो तस्वीर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस् ‘नैतिक मूल्यको प्रस्तुतिले नै सुन्दर बन्दै जान्छ राजनीति’ : विश्वप्रकाश शर्मा

काठमाडौं । गभर्नरलाई कारबाही नगर्न आएको सर्वोच्चको आदेशसँगै निलम्बन गर्ने निर्णय गरेका अर्थमन्त्री शर्मालाई नैतिकताको आधारमा राजीनामा दिन चौतर्फी दबाब परेको छ ।

सर्वोच्च अदालतले मंगलबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउन सरकारले गरेको निलम्बनको कारबाही तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

यो संगै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिन सुझाएका छन् । उनले विगतमा कांग्रेस नेता महेश आर्चायले आफू अर्थमन्त्री हुँदा हटाइएका गभर्नर तिलक रावललाई सर्वोच्चले पुनर्वहाली गरेपछि राजीनामा दिएको उल्लेख गरेका छन् ।

महामन्त्री शर्माले तत्कालीन अर्थमन्त्री महेश आचार्यको तस्बिर ट्वीटरमा पोष्ट गर्दै लेखेका छन् । ‘बेलाबेला यस्तो तस्वीर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस्– नैतिक मूल्यको प्रस्तुतिले नै सुन्दर बन्दै जान्छ राजनीति’, महामन्त्री शर्माले लेखेका छन्, ‘समयले सम्झना गरिरहेको छ कांग्रेस नेता महेश आचार्यलाई, जसले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर बिदाईको निर्णय अदालतले उल्ट्याएपछि अर्थमन्त्रीबाट राजीनामा दिनुभयो ।’


प्रतिक्रिया दिनुहोस्