विश्वव्यापी अनलाइन पालाम प्रतियोगीताको उत्कृष्ट १० जनाको नाम सार्वजनिक प्रकाशित मिति : 26 July, 2020 5:19 pm काठमाडौं । संस्कृति संरक्षणसँगै जागरण कायम गर्ने उदेश्यले आयोजना भएको अनलाइन पालाम प्रतियोगिताको उत्कृष्ट १० छनोट भएको छ । आयोजक याक्थुङ कल्चरल ग्रुपले आइतबार एक सूचना जारी गर्दै प्रतियोगिताको उत्कृष्ट १० जनाको नाम सार्वजनिक गरेको हो । उत्कृष्ट १० जनामा पाँचथरका इन्दिरा नेम्बाङ, ताप्लेजुङका जिवन केदेम , सुनिता लाबुङ, साँगुले ठुले, तेह्रथुमका पेपराज मावुहाङ , सुमन लिम्बु, शिव कुमार सम्बाहाङफे, इटहरीका बिक्रम येक्तेन, सुनसरीका शान्तीराम खरेल र सुनिता संयोग रहेका छन् । प्रतियोगितामा ३५२ जनाको सहभागिता रहेको थियो । आयोजकले प्रतियोगीहरुलाई साउन १४ गते बिहान ११ बजेभित्र सम्ममा नयाँ पालाम पठाईसक्न समेत आग्रह गरेको छ । याक्थुङ कल्चरल ग्रुपले संसारभर रहेका संस्कृति प्रेमीहरु सहभागी हुने गरी प्रतियोगिताको आयोजना गरेको हो । विजेता पहिलोले नगद ५० हजारका साथमा एउटा पालाम रेकर्डको अवसर सँगै अन्य पुरस्कार समेत पाउने छ । दितीय हुनेले नगद ३० हजारका साथमा अन्य पुरस्कार प्राप्त गर्नेछ । तृतीय हुनेले नगद २० हजारका साथमा अन्य आकर्षक पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । लिम्बु समुदायमा पाःलामको छुटै सांस्कृतिक महत्व छ । पछिल्लो समय आधुनिकताको बढ्दो संक्रमण सँगै समुदायमा पाःलाम प्रतिको मोह हराउन थालेको भन्दै सचेत युवाहरु त्यसको संरक्षणमा लागेका हुन् ।