अवैध रूपमा डिम्ब संकलन रोक्न सर्वोच्च अदालतमा रिट 213 Shares दीक्षा राई, काठमाडौं । किशोरी र महिलाबाट अवैध रूपमा डिम्ब संकलन तथा भण्डारण गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ। बबरमहलस्थित होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक प्रालिले किशोरीहरूको डिम्ब निकालेर प्रयोग तथा वितरण गरेको समाचार सार्वजनिक भएपछि यो विषय कानुनी उपचारमा पुगेको हो। अधिवक्ता निरव ज्ञवाली र अंकिता त्रिपाठीले भदौ १ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र नेपाल प्रहरीसहितका निकायहरूलाई विपक्षी बनाएर रिट दर्ता गरेका हुन्। रिटमा कानुनी प्रावधानबिना डिम्ब संकलन र भण्डारण गर्नु अनुचित भएको उल्लेख छ। साथै, प्रजनन स्वास्थ्यसँग जोडिएका संवेदनशील अधिकार र सम्भावित जोखिमलाई ध्यानमा राखेर स्पष्ट कानुनी व्यवस्था आवश्यक भएको जनाइएको छ। यसरी डिम्ब संकलन गर्ने कार्य मानव बेचबिखनसँग समेत सम्बन्धित हुन सक्ने भन्दै दोषीहरूमाथि कारबाही गर्न माग गरिएको छ। साथै, अन्तिम फैसला नआएसम्म यस्तो गतिविधि तत्काल रोक्न अन्तरिम आदेश जारी गर्न पनि निवेदनमा आग्रह गरिएको छ।