बौद्ध महायान केन्द्र गुम्बा कपनले दियो ताप्लेजुङका अग्निपीडितलाई राहत सामाग्री प्रकाशित मिति : 8 May, 2020 6:42 pm काठमाडौं । नेपाल बौद्ध महायान केन्द्र गुम्बा कपन काठमाडौंले ताप्लेजुङका अग्निपीडितलाई राहत सामाग्री वितरण गरेको छ । गुम्बाले आज शुक्रबार जिल्लाका अग्निपीडित ३२ घर परिवारलाई भाडा वर्तन,लत्ताकपडा लगायत खाद्य सामग्री वितरण गरेको हो । केन्द्रका अभियन्ता भिक्षु थुप्तेन जिग्डोल लामाका अनुसार केन्द्रमार्फत प्रति परिवार डबल बेडको डसना १ थान,चाईनिज सिरक १ थान,डबल बेडको तन्ना १ थान,२–२ वटा सिरानी,३ लिटरको प्रेशर कुकर १ थान,कराई,डाडु,पन्यु र कित्ली १–१ थान तथा ३० किलोग्रामको जुनेली चामल १–१ बोरा वितरण गरिएको छ । अग्नि पीडित परिवारको परार्मश तथा फुङ्लिङ नगरपालिका र जिल्ला बिपद् व्यवस्थापन समितिको अनुरोधमा पीडितहरुको तात्कालिक आवश्यकताको आधारमा जिन्सी सामाग्री वितरण गरिएको गुम्बा कपन काठमाडौंको तर्फबाट स्थानीय रुपमा संयोजन गर्ने दावा शेर्पाले जानकारी दिनुभयो । राहत वितरण कार्यक्रममा तत्कालिन संबिधानसभा सांसद पासाङ शेर्पा,पूर्व सांसद तिलकुमार मेन्याङ्वो,प्रदेशसभाका सांसदहरु टंक आङ्बुहाङ,बलबहादुर साम्सोहाङ र होमकुमारी साँवा,जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन, फुङ्लिङनगरप्रमुख प्याकुरेल,फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष सरोज एभेङ,फुङ्लिङ नगर उपप्रमुख बमबहादुर भट्टराई९तारा०,प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलासहित ताप्लेजुङ समाज नेपाल काठमाडौ र नेपाल बौद्ध महायान केन्द्र गुम्बा कपन काठमाडौका पदाधिकारी तथा सदस्य सहितको उपस्थिति रहेको थियो । ताप्लेजुङको सदमुकाम फुङ्लिङस्थित ट्याक्सी स्टेन छेउमा गत शुक्रबार राति भएको आगलागीबाट ८ घर जलेका थिए । ती घरमा व्यापार व्यवसाय गर्ने र भाडामा बस्ने ३७ परिवार विस्थापित भएका छन् ।