उपत्यकाबाट साढे ७ सय ताप्लेजुङका नागरिक जिल्लातर्फ लागे प्रकाशित मिति : 24 April, 2020 1:48 pm काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम गर्न सरकारले गरेको लकडाउन लम्बिँदै गएपछि उपत्यकामा रहेका साढे ७ सय ताप्लेजुङका नागरिक घर फर्किएका छन् । ताप्लेजुङबाट काठमाडौं आई विभिन्न पेशा व्यावसायमा आवद्व, विद्यार्थी, बैदेशिक रोजगारको शिलशिलामा रोकिएका लगायत ताप्लेजुङबासीहरु घर फर्किएका हुन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र ताप्लेजुङ सरोकार केन्द्रको समन्वयमा ताप्लेजुङ ल्याइदैं गरेको हो । २३ वटा बस बिहीबार राति ताप्लेजुङतर्फ पठाइएको ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले जानकारी दिनुभयो । लकडाउनका कारण उपत्यकामा रहेकालाई फक्ताङ्लुङ, मैवाखोला, पाथीभरा याङ्वरक, सिदिङ्वा र मिक्वाखोला गाउँपालिकाले सहयोग गर्ने भएका छन् । तर अहिले ताप्लेजुङसम्म पुग्दा लाग्ने सवारी खर्च यात्रु आफैले व्यहोर्नुपर्ने र पछि गाउँपालिकाले सो बापतको रकम सम्बन्धित यात्रुलाई उपलब्ध गराउनेछ । तर काठमाडौंबाट बिहीबार राति ताप्लेजुङतर्फ पठाइएका नागरिकले गाउँपालिका पुगेपछि तोकिएको दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्नेछ। तर पनि गाँउपलिकामा पर्याप्त क्वारेन्टाइनको व्यवस्था नभएकोले होम क्वारेन्टाइनमै बस्नुपर्ने बाध्यता भएकोले जोखिम बढन् सक्ने भन्दै स्थानिय निकायका जनप्रतिनिधि चिन्ता व्यक्त गरेका छन्् । अहिले ताप्लेजुङका ९ स्थानीय तह र नेपाली सेना,नेपाल प्रहरी र शसस्त्र प्रहरीमा गरी कूल १ सय ७९ शैयाको मात्र क्वारेन्टाइन रहेको छ । यो अवस्थामा काठमाडौंबाट ल्याइएका सबै नागरिकलाई स्थापित क्वारेन्टाइनमा राख्न नसकिने भएकोले होम क्वारेन्टाइन उपयुक्त हुने कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिका संयोजक संयोजक मादेनले जानकारी दिनुभयो।