विप्लव समूहको केन्द्रीय उपाध्यक्ष पक्राउ प्रकाशित मिति : 2 March, 2020 12:49 pm काठमाडौं १९ फागुन / प्रतिबन्धित नेकपा विप्लव समूहका अखिल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय उपाध्यक्ष गौरी नारायण मण्डल पक्राउ परेका छन्। धनुषाको मिथिला बिहारी नगरपालिका ३ मिथिलेश्वर घर भएका मण्डललाई धनुषाकै गणेशमान चारनाथ नगरपालिका ५ सखुवनी खोलाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। उनी महेन्द्रनगर वमकाण्ड, कर्तव्य ज्यान र संगठित अपराधमा संलग्न रहेको प्रहरीको दाबी छ। सखुवनी खोलामा आइतबार विप्लव समूहका नेताहरु भेला भएको सूचना पाएपछि सादा पोशाकमा प्रहरी परिचालन भएको थियो। तर, प्रहरी आइरहेको सूचना पाएलगत्तै उनीहरू भागेका थिए। तर सादा पोशाकका प्रहरीले लखेटेर मण्डललाई मात्र पक्राउ गर्न सफल भए। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अवधेश यादवले विप्लव समूहको बैठक बसेको थाहा पाएपछि पुगेको प्रहरीले मण्डललाई पक्राउ गरेको पुष्टि गरे। उनले मण्डल महेन्द्रनगर वमकाण्ड र अन्य आपराधिक घटनामा समेत संलग्न रहेको भन्दै अनुसन्धान भइरहेको बताए। केही महिना अगाडि क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा भएको बम विस्फोटमा प्रहरी निरीक्षक अमिर दाहालसहित ३ जनाको ज्यान गएको थियो। उक्त घटना विप्लव समूहले नै गराएको प्रहरीले निष्कर्ष निकालेको छ। यसअघि समेत सो घटनामा संलग्न भन्दै विप्लवकै ५ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ।