नेकपा ताप्लेजुङको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

प्रयास लिम्बू ताप्लेजुङ, १५ असोज / सत्तरुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ताप्लेजुङले नेपालीहरुको चाड दशैं, तिहार (बलिहाङ तङ्नाम) र छठको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । नेकपाले बुधबार सदरमुकाम फुङ्लिङमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको हो ।


कार्यक्रममा एकापसमा शुभकामना आदानप्रदान गर्दै नेपालीहरुको सबैखाले चाडपर्वले भातृत्व, सहकार्य, सुशासान कायम गर्न साथै देशको समृद्धि र विकासका लागि एकतावद्ध भएर अघि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना सहभागीले गरेका छन् । यस्तै केही वक्ताहरुले देशमा बेथिति तथा अनियमितता र भ्रष्टाचार बढ्दै गएकोले यसलाई निराकरण गर्नका लागि सम्बन्धित सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राखेका थिए ।


त्यस्तैगरी हाल सङ्घीय, प्रदेश र स्थानीय तह गरी तीनवटा सरकारका नाममा सर्वसाधारणको ढाड सेकिनेगरी कर असुल्न थालिएकाले सत्ताको नेतृत्व गरिरहेको दल नेकपाले यसतर्फ सोच्नुपर्ने वक्ताहरुको भनाइ छ । हाल अचाक्ली करकै कारण नेकपाप्रति जनताको विश्वास गुम्दै गएको साथै करको दर नसच्याए सरकारको विरुद्धमा जनता उत्रनुपर्ने अवस्था आउनसक्ने केही वक्ताले धारणा राखेका छन् ।


चियापान कार्यक्रम नेकपाका केन्द्रीय सदस्य तथा पूर्व–सांसद तिलकुमार मेन्याङ्बोको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा नेकपाका अगुवा कार्यकर्ता, स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीसहित विभिन्न सरकारी कार्यालयका प्रमुखहरु तथा अन्य शुभचिन्तकको उपस्थिति रहेको थियो । कार्यक्रममा आपसमा शुभकामना आदानप्रदान गर्दै सुशासन कायम गर्न र देशको समृद्धि तथा विकासका लागिसकारात्मक सोचका अघि बढ्नुपर्नेमा सबैको समान धारणा अभिव्यक्त भएको नेकपाका जिल्ला अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्