नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्युदावी रकम हस्तान्तरण प्रकाशित मिति : 27 September, 2019 9:31 am प्रयास लिम्बू ताप्लेजुङ, असोज ९ गते । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले साढे २६ लाख रुपियाँ बढी मृत्यु दावी रकम भुक्तानी गरेको छ । बिहीबार सदरमुकाम फुङ्लिङमा एक कार्यक्रमको आयोजना गरी इन्स्योरेन्स कम्पनीले बिमितका आफन्तलाई रकम हस्तान्तरण गरेको हो । मृत्युदावी बापतको रकमको चेक हस्तान्तरण गरिँदै । तस्बिर ः प्रयास कम्पनीका शाखा प्रमुख हिमाल राईका अनुसार फुङ्लिङ नगरपालिका–२ बस्ने दिलमाया शङ्खरले ‘नौलो जीवन समृद्धि जीवन’ अन्तर्गत २५ लाख रुपियाँको बीमा गर्नुभएको र दिलमायाको मृत्यु भएपछि उहाँका श्रीमान् गङ्गाराम शङ्खरलाई बीमा रकम र बोनससहित २६ लाख ६२ हजार ५०० रुपियाँ प्रदान गरिएको हो । उक्त रकम बराबरको चेक शाखा प्रमुख राई र वरिष्ठ एजेन्सी म्यानेजर भीमप्रकाश दाहालले संयुक्त रुपमा शङ्खरलाई हस्तान्तरण गर्नुभयो । कुल २५ लाख रुपियाँको बीमाङ्क रकममा कम्पनीले एक लाख ६२ हजार ५०० रुपियाँ बोनस थप गरेर मृतकका आफन्तलाई रकम प्रदान गरिएको शाखा प्रमुख राईले बताउनुभयो । उहाँका अनुसार नेपाल लाइफमा २५ लाख रुपियाँको बीमा गर्नुभएकी दिलमायाले दुई लाख १४ हजार रुपियाँ एक किस्ता मात्र प्रिमियम रकम बुझाउनुभएको थियो । अर्को किस्ता बुझाउन नपाई उहाँको २०७५ साल पुस ५ गते उपचारको क्रममा निधन भएको कम्पनीले जनाएको छ ।