सुकेटारमा तीन महिनापछि उडान,फर्किदा रित्तै प्रकाशित मिति : 27 September, 2019 9:19 am ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि बिहीबार उडान भएको भएको छ । प्रतिकुल मौसमका कारण अवरुद्ध बनेको सुकेटार विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले तीन महिनापछि उडान भरेको हो । निगमका अनुसार नियमित तालिकाअनुसार बुधबार हुने उडान मौसमकै कारण रद्द हुन गएको र सोही उडानलाई बिहीबार गराइएको हो । सुकेटार विमानस्थलमा तीन महिनापछि उडान भरेको निगमको ट्विनअटर जहाज। तस्बिर ः प्रयास । नेपाल वायु सेवा निगमले प्रत्येक हप्ताको सोमबार, बुधबार र शनिबार तीन दिन काठमाडौं–सुकेटार उडान सञ्चालन गर्ने गरेको छ । उक्त उडान तालिका भए पनि मौसमको कारण देखाई गत जेठ २९ गतेदेखि सुकेटारमा उडान ठप्प भएको थियो । भदौ महिनायता मौसममा सुधार आए पनि यात्रु नभएपछि उडान सञ्चालनमा ल्याउन नसकिएको निगमले जनाउँदै आएको थियो । बिहीबार भने काठमाडौंबाट नौ जना यात्रु भएकाले उडान भरेको र यहाँबाट काठमाडौंका लागि एकजना पनि यात्रु नभएको ताप्लेजुङस्थित निगमको स्टेशन इन्चार्ज राजु कार्कीले जानकारी दिनुभयो । स्टेशन इन्चार्ज कार्कीले यात्रु नभए पछि जहाज रित्तै फर्किएको जानकारी दिनुभयो । उहाँले अब यात्रु भएमा तालिका अनुसार नियमित उडान हुने बताउनुभयो । काठमाडौंमा यात्रुले सम्पर्क गरिरहेका र यहाँबाट काठमाडौं लागि भने अहिलेसम्म यात्रु शून्य नै रहेका पनि कार्कीले जानकारी दिनुभयो । उहाँले काठमाडौंबाट जहाज भरी यात्रु हुने भएमा उडान नियमित सञ्चलन गर्ने निगमको तयारी रहेको सुनाउनुभयो । यात्रुको अभाव नभएमा हाल उडान भर्दै आएको ट्विनअटर मात्र नभई चाइनिज जहाज वाई–१२ ९थ्(ज्ञद्द० समेत सञ्चालनमा ल्याउने निगमले जनाएको छ । निगमले सुकेटारमा एक महिना वाई–१२ जहाजको परीक्षण उडान गरेको थियो । यता दशैँ तिहारजस्ता चाडपर्व नजिकिँदा पनि उडान नहुँदा यात्रु तथा जिल्लाबासी निरास थिए । चाडपर्व भित्रनै लाग्दा निगमले बिहीबार उडान गरेपछि भने जिल्लाबासीमा केही खुसी छाएको पाइएको छ । जिल्ला बाहिर रहेका परिवारका सदस्य तथा आफन्तहरु चाडपर्वमा घर फर्कनलाई सहज हुनेभन्दै उनीहरुमा खसी छाएको हो । उडान सञ्चालनले यहाँ कार्यरत कर्मचारी पनि चाडपर्वको विदामा घर जान पाउने भएका बताइएको छ । चाडपर्वको समयमा जिल्लाबाट बहिरिनेभन्दा भित्रने यात्रु बढी हुने गर्दछन् । उता सोह्रश्राद्धको समय सुरु भएसँगै निरन्तर वर्षा भइरहेकाले उडान निश्चित हुने अवस्था भने छैन । पर्यटकीय सिजन सुरु भएकाले दशैँ पछि भने यात्रुको कुनै कमी नहुने पर्यटन व्यवसायी बताउँछन् । ताप्लेजुङ पर्यटकीय जिल्ला भएकाले पर्यटकीय सिजनमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने हुँदा उडान नियमित गर्न पनि निगमसमक्ष व्यवसायीको आग्रह रहेको छ । उडानलाई निश्चित र भरपर्दो नबनाए सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्ष २०२० लाई समेत असर पुग्ने उनीहरुको भनाइ छ ।