हजार मेगावाटको सब–स्टेसन बन्दै

जनकपुर, २५ चैत / नेपाल विद्युत् प्राधिकरणले धनुषाको ढल्केवरमा एक हजार मेगावाट क्षमताको सबस्टेसन र डबल सर्किट प्रसारण लाइन निर्माण गरिरहेको छ । नेपाल र भारतबाट विद्युत् ल्याउन र लैजान मिल्ने गरी निर्माणाधीन संरचना मुलुककै सबैभन्दा बढी क्षमताको हुनेछ । विद्युतको राष्ट्रिय प्रसारणलाइनसँग जोडिएको ढल्केवर सबस्टेसन खिम्ती जलविद्युत्सँग पनि जोडिएको छ । खिम्ती जलविद्युत् आयोजनासम्म २ सय २० केभीको प्रसारण लाइन छ । ढल्केवर सबस्टेसन भारतको मुजफ्फरपुर र कटैयाको विद्युत् लाइनसँग पनि जोडिएको छ । विहारको मुजफ्फरपुरदेखि ढल्केवरसम्म ४ सय केभीको प्रसारण लाइन छ ।

विहारकै कटैयादेखि ढल्केवरसम्म १ सय ३२ केभीको प्रसारण लाइन छ । ढल्केवर सबस्टेसनमा भारतको मुज्जफरपुर र कटैयाबाट अहिले १ सय ३० मेगावाट विद्युत् आयात भइरहेको छ । अरुण तेस्रो जलविद्युत् आयोजनाले उत्पादन गर्ने ९ सय मेगावाट विद्युत् ढल्केवर सबस्टेसनमार्फत नै भारत जानेछ । भारत सरकारको लगानीमा निर्माणाधीन अरुण तेस्रोले उत्पादन गर्ने विद्युत् सप्लाइका लागि हेटौंडादेखि सुनसरीको इनर्वासम्म डबल सर्किटको प्रसारण लाइन निर्माण जारी छ । विश्व बैंकको आर्थिक सहयोगमा भारतीय ठेकेदार कम्पनी एआईएल–एलटीबी जेएनले डबल सर्किटको प्रसारण लाइन निर्माण गरिरहेको छ । ‘सुनसरीको इनर्वादेखि निर्माण गरिएको प्रसारण लाइन ढल्केवर सबस्टेसनसँग जोडेर हेटौंडासम्म बनाउँदैछौं,’ भारतीय ठेकेदार कम्पनीका दिनेश मालचन्दाले भने ।

४ सय केभीको डबल सर्किट प्रसारण लाइन ढल्केवरबाटै विहारको मुजफ्फरपुरसम्म जोडिएको छ । भारतबाट विद्युत् ल्याउँदा वा नेपालबाट विद्युत् लैजाँदा ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइन नै प्रयोगमा ल्याइनेछ । ‘ढल्केवर प्रसारण लाइनमार्फत नै हिउँदमा भारतले र सुख्खायाममा नेपालले विद्युत् आयात गर्नेछन्,’ ढल्केवर सबस्टेसनका इन्जिनियर सेवककुमार मण्डलले भने, ‘नेपाल र भारतबीच विद्युत् व्यापार गर्न ढल्केवर सबस्टेसन नै मुख्य हब हुनेछ ।’

नेपालमा १ सय ३२ केभीभन्दा बढी क्षमताको सबस्टेसन छैन । प्राधिकरणले ढल्केवरलाई एक हजार मेगावाट क्षमताको बनाउन सबस्टेसन र प्रसारण लाइन दुवैको स्तरोन्नति थालेको छ । नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनामार्फत प्राधिकरणले ढल्केवर सबस्टेसनलाई दुई चरणमा स्तरोन्नतिको काम थालेको छ । इन्जिनियर मण्डलका अनुसार २ सय २० केभी क्षमताको ढल्केवर सबस्टेसनलाई दुई चरणमा एक हजार मेगावाट क्षमताको बनाइनेछ । सबस्टेसनमा २२०र१३२ केभीको अर्को सबस्टेसन निर्माण जारी छ । भारतीय ठेकेदार कम्पनी टेलमस इलेक्ट्रोनिक्स कम्पनीले ढल्केवर सबस्टेसनको २२० र १३२ केभी निर्माण गरिरहेको छ । चीनको सेन्ट्रल चाइना पावर ग्रिडले सबस्टेसन निर्माण थालेको थियो । भरतपुर–बर्दघाट २ सय २० केभीको प्रसारण लाइनमा ढिलाइ गर्दा प्राधिकरणले चीन सरकारको स्वामित्वमा रहेको उक्त कम्पनीसित ठेक्का सम्झौता भंग गरेको थियो । ‘प्राधिकरणले भरतपुर–बर्दघाटको ठेक्का तोडेपछि चाइनिज कम्पनीले नै ढल्केवर सबस्टेसनबाट हात झिकेको छ,’ इन्जिनियर मण्डलले भने, ‘त्यसपछि भारतीय कम्पनी टेलमसले निर्माण थालेको हो ।’

सन् २०१७ सेप्टेम्बर २२ मा चाइनिज कम्पनीले ढल्केवर सबस्टेसन निर्माणबाट हात झिकेको थियो । भारतीय कम्पनी टेलमसले २२ जनवरी २०१८ देखि काम सुरु गरेको छ । ठेक्का सम्झौताअनुसार जुनमा काम सक्नुपर्ने म्याद छ । ‘फेरि ठेक्का लगाउँदा काममा ढिलाइ भएको छ,’ मण्डलले भने, ‘तोकिएकै समयमा सकिने छाँट देखिँदैन ।’ विश्व बैंककै आर्थिक सहयोगमा ढल्केवर सबस्टेसनको स्तरोन्नति र प्रसारण लाइन निर्माण भइरहेको छ । प्राधिकरणका अनुसार सबस्टेसनको ८५ प्रतिशत र प्रसारणलाइनको ७० प्रतिशत काम सकिएको छ ।

प्राधिकरणले ढल्केवर सबस्टेसनमै ४०० र १२० केभीको अर्को सबस्टेसन निर्माणका लागि ठेक्का सम्झौता गरिसकेको छ ।

‘ठेकेदारसँग एग्रिमेन्ट भइसकेको छ, छिट्टै निर्माणको काम अघि बढ्छ,’ नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाका प्रमुख राधेश्याम महतोले कान्तिपुरसँग भने, ‘सबस्टेसनको स्तरोन्नति र प्रसारण लाइनको निर्माण सकिएपछि ढल्केवर सबस्टेसनबाट एक हजार मेगावटभन्दा बढी विद्युत् सप्लाइ हुन्छ ।’

वनले रोकियो प्रसारण लाइन
वनक्षेत्रका रूख काट्न ढिलाइ हुँदा विद्युत् टाबर निर्माण रोकिएको छ । भारतीय कम्पनी एआईएल–एलटीबी जेएनले वनक्षेत्रमा निर्माण गर्नुपर्ने २ सय ६९ टावरको काम रोकिएको हो । डबल सर्किटको ४ सय केभी एचडीडी ट्रान्समिसन लाइन निर्माणका लागि धनुषा र सिरहामा रूख कटान बल्ल सुरु भएको छ । हेटौंडादेखि इनर्वासम्मको २ सय ८५ किलोमिटरमा ७ सय ९२ वटा टाबर निर्माण गर्नुपर्छ । अहिलेसम्म ५ सय २३ वटा बनेका छन् । जंगलक्षेत्रको र कोसी नदीमा बनाइने ६ वटा टावरको काम पनि बाँकी छ ।

महोत्तरी, रौतहट, बारा र मकवानपुरका वनक्षेत्रमा बनाइने टाबरका लागि रूखको छपान र कटान प्रक्रिया वन विभागमै थन्किएको छ । उदयपुरमा स्थानीयको अवरोधले काम रोकिएको छ भने सर्लाहीमा रूख काट्न बाँकी छ । टावरको जग हालिएको ठाउँबाट २३ मिटर दायाँ–बायाँ खाली हुनुपर्छ ।

प्राधिकरणले डीए, डीबी, डीसी र डीडी प्रक्रियाबाट टावर निर्माण गरिरहेको छ । सीधा, घुमाउरो र उकालो–ओरालो ठाउँमा टावर बनाउँदा यी चार प्रक्रिया अपनाउनुपर्छ । भारतीय कम्पनी एआईएल–एलटीबी जेएनले ४ सय केभीको डबल सर्किट प्रसारण लाइनको निर्माण थालेको हो । सम्झौतअनुसार २०१८ जुन ३० मा डबल सर्किट प्रसारण लाइनको काम सक्नुपर्छ तर रूख कटान नहुँदा तोकिएअनुसार हुने छाँट देखिन्न । वनक्षेत्रकै कारण प्रसारण लाइन निर्माण अवधि तीन पटक सारिएको छ ।


प्रतिक्रिया दिनुहोस्