रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने 0 Shares काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल परिस्थितिका कारण प्रतियोगिता स्थगित गरिएको थियो। हाल इजरायल, अमेरिका र इरानबीच बढ्दो तनावका कारण उक्त क्षेत्र प्रभावित बनेको बताइएको छ। क्लबद्वारा जारी सूचनाअनुसार प्रतियोगितामा सहभागी खेलाडी, टिम व्यवस्थापक, समर्थक तथा खेलप्रेमीहरूलाई तोकिएको मिति र समयमा उपस्थित भई कार्यक्रम सफल बनाउन आग्रह गरिएको छ। प्रतियोगिताको खेल मैदान तथा मिति सम्बन्धी विस्तृत जानकारी भने छिट्टै अर्को सूचनामार्फत सार्वजनिक गरिने आयोजकले जनाएको छ।सगरमाथा फुटबल क्लबले सबै सरोकारवालाहरूको सहयोग र सहभागिताले प्रतियोगिता सभ्य र भव्य रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरेको छ। प्रतियोगितामा साउदी अरबमा क्रियाशील विभिन्न नेपाली समुदायका फुटबल टोलीहरूको सहभागिता रहने जनाइएको छ। प्रतियोगितामार्फत प्रवासी नेपालीबीच सद्भाव, एकता, सहकार्य तथा स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ। साथै, खेलकुदमार्फत नेपाली पहिचान सुदृढ गर्दै युवालाई खेल क्षेत्रमा प्रेरित गर्ने उद्देश्यसमेत रहेको आयोजकले जनाएको छ।पुरस्कारतर्फ विजेता टोलीले ७ हजार साउदी रियालसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३ हजार ५ सय साउदी रियालसहित ट्रफी र प्रमाणपत्र पाउनेछन्। प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’सहित विभिन्न विधागत पुरस्कारहरू पनि प्रदान गरिनेछन्।विगतका संस्करणहरू सफलतापूर्वक सम्पन्न हुँदै आएको सगरमाथा गोल्ड कपले रियादस्थित नेपाली समुदायमा खेलकुदप्रतिको आकर्षण बढाउँदै आएको आयोजकको दाबी छ। प्रतियोगिताले खेल प्रतिभा पहिचान तथा सामाजिक सद्भाव सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताइएको छ।