१ हजार शुल्क तिरेर खोला वारपार प्रकाशित मिति : 14 July, 2019 10:54 am काठमाडौं असार २९ / पाल्पाको पूर्वखोला र निस्दी गाउँपालिकाको सिमाना रहेको निस्दीखोलामा खोला तरेबापत एक हजारसम्म शुल्क लिने गरिएको छ । वर्षायाम शुरु भएदेखि खोलामा पानीको बहाव बढेसँगै एक हजारसम्म शुल्क लिएर खोला वारपार गराउने गरिन्छ । यो समस्या वर्षौँदेखिको हो । यहाँका स्थानीयवासीले वर्षायाम शुरु भएदेखि खोला वारपार गर्न निकै सास्ती खेप्दै आइरहेका छन् । स्थानिय सरोकार भने यस्मा मौन छ । हरेक निर्वाचनमा यो खोलामा पक्की पुल निर्माण गर्ने सबै दलका उम्मेदवारका चुनावी एजेण्डामा समेटिए पनि । पुल बनाउने कार्यमा भने कसैले चासो दिएको छैन । जोखिम मोलेरै पानी बढेको खोलामा पसेर मोटरसाइकल बोकेर खोला वारपार गराएवापत रु ५०० देखि एक हजारसम्म शुल्क लिने गरेको स्थानीयवासी कृष्णबहादुर सुनारीले बताउनुभयो । पूर्वखोला गाउँपालिकाको सिलुवा बजारबाट सात किमी दक्षिणमा रहेको यस खोलामा पुल नहुँदा वर्षायाम शुरु भएपछि सवारीसाधन नै ठप्प हुँदा स्थानीयवासीले निकै सास्ती खेप्दै आइरहेको स्थानीय व्यापारी विजय सारुले बताउनुभयो । “सामान गाडीमा ओसारपसार गर्न, गाउँघरमा उत्पादित वस्तु बजार पु¥याउन खोलामा पुल नभएकै कारण बोकेर जीविका चलाउनुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो । सवारीसाधन ठप्प हँुदा उपभोग्य वस्तु महँगो मूल्यमा खरीद गर्न यस क्षेत्रका स्थानीयवासी बाध्य छन् ।पैदलयात्रीका लागि झोलुङ्गे पुल रहे पनि यातायातका साधन वारपार गर्न पक्की पुल नबन्दा जोखिम मोलेरै सवारीसाधन वारपार गर्नुपर्ने बाध्यता रहेको छ ।