अनुभवको अभावमा ताप्लेजुङका न्यायिक समिति निस्क्रिय प्रकाशित मिति : 27 February, 2019 6:37 am अरुणपोष्ट संवाददाता ताप्लेजुङ, फागुन १४ गते । ताप्लेजुङका स्थानीय तहमा रहेका न्यायिक समिति काम गर्ने अनुभवको अभावमा निस्क्रिय रहेको पाइएको छ । काम गर्नका लािग अधिकारक्षेत्र तोकिएको भए पनि ती कामहरु कसरी गर्ने भन्नेबारे पूर्ण जानकारी नहुँदा न्यायिक समिति निस्क्रिय झैं बनेको पाइएको हो । स्थानीय तहका उपप्रमुख वा उपाध्यक्ष संयोजक रहेको न्यायिक समितिलाई विभिन्न १० वटा मुद्दा हेर्न सक्नेगरी अधिकार प्रत्यायोजन गरिएको छ । मुद्दा हेर्न अर्धन्यायिक निकायको रुपमा अधिकार प्रदान गरिएको भएपनि आफ्नो अधिकार क्षेत्रभित्रको कामलाई कसरी सम्पादन गर्ने भन्ने पूर्ण जानकारी नहुँदा न्यायिक समितिका संयोजकलाई समस्या हुने गरेको बताइएको छ । सदरमुकाम फुङ्लिङमा मङ्गलबार कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले आयोजना गरेको न्यायिक समिमिको अधिकार र यसको प्रयोगसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रममा सहभागी स्थानीय तहका उपप्रमुख तथा न्यायिक समितिका संयोजकहरुले काम गर्ने ज्ञान वा अनुभवको अभावमा कार्यसम्पादन गर्न अप्ठ्यारो भएको बताएका छन् । मेरिङ्देन गाउँपालिकाकी उपाध्यक्ष एवम् न्यायिक समिति संयोजक कल्पना तुम्बाहाम्फेले राजनीतिक क्षेत्रबाट निर्वाचित भएर एक्कासी न्याय सम्पादनको काम गर्न निक्कै अप्ठ्यारो भएको बताउनुभयो । समिति संयोजक तुम्बाहाम्फेले चुनावमा निर्वाचित भएपछि न्याय सम्पादन तथा निरुपणको कार्य गर्नुपर्ने बाध्यता आएपछि झण्डै एक वर्षसम्म आपूmले जानेको र गाउँले शैलीमै काम गर्नुपरेको बताउनुभयो । उहाँले गएको मङ्सिरमा एक मानव अधिकारवादी संस्थाले सदरमुकाममा आयोजना गरेको सात दिने तालिममा सहभागी भएपछि मात्रै न्यायिक समितिको जिम्मेवार व्यक्ति भएर हाल केही सजिलो गरी कार्यसम्पादन गर्दै आएको बताउनुभयो । यस्तै पाथीभरा याङ्वरक गाउँपालिकाकी उपाध्याक्ष तथा न्यायिक समिति संयोजक रनमाया गुरुङले पनि कार्यसम्पादनको ज्ञान नहुँदा धेरै असहज भएको बताउनुभयो । न्याय सम्पादन तथा निरुपणको कार्य गर्नुपर्ने एक्कासी जिम्मेवारी आएकाले अन्योलमा आपूmहरु परेको गुरुङले बताउनुभयो । मानवअधिकार संस्थाको तालिम, जिल्ला न्यायाधिशको उपस्थितिमा भएको अभिमुखीकरणजस्ता कार्यक्रममा सहभागी भएपछि मात्र हाल आएर जिम्मेवारीभित्रको कार्यसम्पादनमा सहज भएको उहाँले बताउनुभयो । अहिले न्यायिक समितिको छुट्टै कक्ष व्यवस्थापन गरेर कार्यसम्पादन गर्दै आएको उहाँले बताउनुभयो । शुरुमा जग्गा किचोला, झैझगडा लगायतका थुप्रै मुद्दाहरु समिति समक्ष आएको र हाल समितिको कक्ष व्यवस्था गरेपछि भने अत्यन्तै थोरै मात्र उजुरी तथा मुद्दाहरु आउने गरेको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार स्थानीय तह आफैंले हाल नीति तथा कार्यविधि समेत बनाएर कार्यान्वयन गर्दै छ । फुङ्लिङ नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक बमबहादुर भट्टराई (तारा) ले पनि शुरुमा अन्योलका बीच नै कार्य गरेको बताउनुभयो । पछि ऐन, नीति तथा निर्देशिका आएपछि भने समितिले पाएको जिम्मेवारी अनुसार कार्यसम्पादन गर्नलाई सजिलो भएको भट्टराईले बताउनुभयो । ऐन तथा नीतिको उपलब्धता भए पनि दर्ता अधिकृत लगायत जनशक्तिको अभावमा कार्यसम्पादन गर्नलाई केही असहज भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनसार फुङ्लिङ नगरपालिकाभित्र करिव एक सयको सङ्ख्यामा मुद्दाहरु न्यायिक समितिले हेरेको छ । अधिकार क्षेत्रभित्रका समितिमा दर्ता भएको धेरै मुद्दाहरुको मेलमिलापमार्फत किनारा लगाएको र केही प्रक्रियामा रहेको साथै केही मुद्दाहरु जिल्ला अदालतका लागि सिफारिस गरिएको पनि उहाँले जानकारी दिनुभयो । समितिको क्षेत्राधिकार बाहिरको मुद्दाहरु लिएर आउने सेवाग्राहीलाई अदालतमा जान सल्लाह दिने गरेको उहाँले बताउनुभयो । एक नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा सबै स्थानीय तहअन्तर्गतका न्यायिक समितिमा प्रभावकारी कार्यसम्पादन भएका छैनन् । न्यायिक समितिले गर्ने कार्यको क्षेत्राधिकार तोकिए पनि कसरी कार्यसम्पादन गर्ने भन्ने ज्ञानको अभावकै कारण प्रभावकारी काम नभएको पाइएको हो । आवश्यक कानुन तथा कार्यविधि र पर्याप्त तालिमको जरुर रहेको समितिका पदाधिकारीहरु बताउँछन् । यता कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले न्यायिक समितिका पदाधिकारीहरुकै लागि क्षमता अभिवृद्धि कार्यक्रमको आयोजना गरेको जनाएको छ । न्याय सम्पादनमा भएका असजिलाहरु र कार्य सम्पादनका शिलशिलामा निभाउनुपर्ने भूमिकाबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मन्त्रालयकी सहसचिव निर्मला अधिकारी (भट्टराई) ले जानकारी दिनुभयो । कार्यक्रममा समितिको क्षेत्रकाधिकार, ऐन तथा कार्यविधि, निर्देशिका, कानुनी व्यवस्थाको बारेमा मन्त्रालयकी सहसचिव अधिकारीसहित ताप्लेजुङका जिल्ला न्यायाधीश कृपासुर कार्की लगायतले अनिशिक्षण दिलाउनुभएको थियो । न्यायिक समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी लगायत सहभागी भएको कार्यक्रममा फुङ्लिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेल, जिल्ला समन्वय समिति उपप्रमुख देवीमाया नेपालीले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।