ताप्लेजुङका कमल बीए पास गरेर भेडीगोठे पेसामा काठमाडौँ / पाथिभरा बहुमुखी क्याम्पसबाट पढाइमा बीए तह पार गर्नै लागेका तन्नेरी कमल विष्टका ताप्लेजुङ, फावाखोलाका हुन , साथीभाइ कोही लाहुरमा छन्, कोही खाडीको तातोमा भेडीगोठतिर छन् । कोही शिक्षक सेवा आयोग। कतिपयको सोच विद्यार्थी वा कामदार भिसामा बाहिरी मुलुक जानेतिर पनि छ । कतिपयलाई अन्योल छ, के गर्ने के गर्ने ! पढाइमा बीए तह पार गर्नै लागेका कमल देशविदेश, साथीभाइ, इज्जत, प्रतिष्ठा सबै ‘जोडघटाउ’ गरेरै कमल भेडीगोठ छिरेका हुन्, लाज माया मारेर । भने हिजोआज माथि ताप्लेजुङ, लेलपको ग्याव्लामा दिनरात बितिरहेको छ । कमलका लागि भेडीगोठ पुख्र्यौली पेसासमेत हो, गोठालो बन्नुमा पुर्खाको नामकामसमेत छ । पाँच दाजुभाइका कान्छा कमल भेडासँगै हुर्किए । बाल्यकालमा आमाले नजानू भन्दा पनि बाबुको प्यारो भएर गोठ जान कम्ती मज्जा लाग्दैन थियो उनलाई । त्यसैले त कहिलेकाहीं हप्ता दिनसम्म पनि स्कुल छाडेर गोठतिरै बस्थे । उनी बालापन सम्झँदै छन्, ‘भेडाको दूध पिउँथें, राडीमा सुत्थें, पाठा बोकेर माउ (उसको आमा) सँग पुर्याइदिन्थें अनि नटेरे सोट्कन (सिर्कनाले हिर्काउनु) लगाउँथें । तर, पाँच कक्षामाथि उक्लिएपछि भने गोठ बिरानो लाग्न थाल्यो र स्कुल प्यारो भयो ।’ सिम्बु माविबाट माध्यमिक तह पढाइ पार लगाएपछि उनी कलेज पढ्न सदरमुकाम फुङलिङ झरे । अलिक उट्पटयाङ कुरा गर्ने सोख भएका उनले स्थानीय एफएममा कार्यक्रम चलाउने मौका पनि पाए । ‘रेडियो आरजे भएँ, प्राविधिक जानें,‘उमेर बित्दै जाँदा अलिक भिन्न सोच पलायो । बरु भेडापालन र गोठलाई व्यावसायिक बनाउँछु भनेर अर्कै बाटो समाएको छ ।’ चार दाजुहरू फर्निचर निर्माण लगायतका अरू व्यवसायमा छन्, कमल भने उनका बाबु र काइँला दाजुका साथमा भेडीगोठ पसेका छन् । अहिले २ सय ५० रहेको गोठमा उनी तत्कालै एक सयवटा पाठा थप्दै छन् । यो संख्या पाँच सयजति पुर्याउने उनको योजना छ । अझ भेडापालकको समूह बनाउने योजनामा छन् उनी । राडीपाखी बनाउन भेडाको ऊन बिक्री हुन्छ । अहिले एक धार्नी (दुई किलो) को पाँच सय रुपैयाँ मूल्य छ । भेडाको सिङ खोज्नेहरू पनि उत्तिकै हुन्छन् । घरको ढोका अघिल्तिर सजाएर राख्न सिङको उपयोग हुन्छ । दाद, घाउ, खटिरा निको पार्ने र खाँदा शरीरभित्रको विकार पनि फाल्ने भएकाले घिउको महिमा अलग्गै छ । भेडाको मासु प्रतिकिलो ७ सय रुपैयाँ चल्तीमा छ । भेडाको सबैभन्दा अगाडि हिँड्नेलाई ‘केरी’ भनिन्छ । यो हिँडेपछि मात्रै अरू पछि लाग्छन् । बालीनाली भएको ठाउँमा भने जूनेलि रातमा राति हिँडाउने गरिन्छ । दिउँसो नौ घन्टा हिँड्ने बाटो भेडाले राति भने तीन घन्टामै छिचोल्छन् । दायाँबायाँ नगरी सरासर हिँड्ने भएकाले औलतिर झार्दा यसरी हिँडाइने भेडापालक बताउँछन् ।