निजामती कर्मचारी युनियनको अध्यक्षमा पोखरेल निर्वाचित प्रकाशित मिति : 21 March, 2018 11:37 am चितवन, ७ चैत । नेपाल निजामती कर्मचारी युनियन (संघ)का अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित भएका छन् । रत्ननगरमा भएको सातौँ महाधिवेशनमा राजेन्द्र बुढाथोकीलाई पराजित गर्दै पोखरेल विजयी भएका हुन् । पोखरेलले बुढाथोकीलाई ३० मतले पराजित गरेका हुन्। कूल ५४५ खसेको मतमा पोखरेलले २८४ र बुढाथोकीको २५४ मत आएको थियो । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा ३६२ मतका साथमा सुरेन्द्र अधिकारीलाई निर्वाचित गरेको छ । प्रतिद्वन्द्वी सुशीलकुमार केसीले १७० मत प्राप्त गरे। अर्का उपाध्यक्षमा कृष्ण दाहाललाई हराउँदै उत्तमकुमार कटवाल निर्वाचित भए । महासचिवमा सुवास कोइराला निर्विरोध भएको प्रमुख निर्वाचन अधिकृत यदुनाथ खनालले जानकारी दिए । गए राति सकिएको महाधिवेशनले २६ पदाधिकारीसहित ८० जना निर्वाचित गरेको छ । पाँचजना भने पछि मनोनयन हुने व्यवस्था रहेको खनालले जानकारी दिनुभयो । तीनवर्षीय कार्यकालका लागि सचिवमात्रै सात जना निर्वाचित भएका छन् । यही चैत ४ गतेदेखि यहाँ चलेको महाधिवेशनमा देशभरका ५६९ प्रतिनिधिमध्ये ५४५ जना सहभागी थिए ।