ल्यापटप चोरी गर्ने एक युवा पक्राउ

ताप्लेजुङ समाचारदाता
ताप्लेजुङ, जेठ ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका एक कर्मचारीको ल्यापटप चोरी गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्लाको फक्ताङ्लुङ ५ घर भई हाल फुङ्लिङ वडा नं. ५ मा बस्दै आएका १८ वर्षीय विशाल लिम्बूलाई चोरी गरेको एकथान ल्यापटपसहित प्रहरीले पक्राउ गरेको हो ।


लिम्बूले नगरपालिका कार्यालयका अमिन पदमा कार्यरत उमेश लावतीको एसर कम्पनीको ६५ हजार रुपियाँ मूल्य बराबरको ल्यापटप लावती डेरा गरी बस्ने कोठाबाटै चोरी गरेका थिए । पक्राउ परेका लिम्बूमाथि थप अनुसन्धान भइरहेको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।
यस्तै तीन दिन अघि जिल्लाको आठराई त्रिबेणी गाउँपालिका ५ चाँगेमा बञ्चरो प्रहारबाट घाइते भएका सोही वडा निवासी ४५ वर्षीय ईश्वरसिंह लिम्बूको उपचारको क्रममा विराटनगरस्थित नोवेल अस्पतालमा बुधबार मृत्यु भएको छ । गएको सोमबार नजिकका छिमेकबीच आपसी झगडा हुँदा स्थानीय डम्बर लिम्बूसहित छ जनाले ईश्वरसिंहको टाउकोमा बञ्चरो प्रहार गरी गम्भीर घाइते बनाएका थिए । यता बञ्चरो प्रहर गर्ने डम्बरलाई प्रहरीले सोही दिन प्रक्राउ गरी हिरासतमा राखेको छ ।


प्रतिक्रिया दिनुहोस्