‘नेपाल आइडल सिजन–२’को अन्तिम अडिसन काठमाण्डौंमा सुरु प्रकाशित मिति : 1 May, 2018 8:39 am काठमाण्डौं, १८ बैशाख / नेपाल आइडल सिजन–२’ अन्तिम अडिसन आज बाट सुरु भएको छ । भैरहवाबाट सुरु गर्दै नेपाल आइडलले सिजन–२ अडिसन सुरुवात गरेको थियो । काठमाण्डौंको अडिसन बैशाख १८ र १९ गते दुई दिन चल्नेछ । अडिसनमा भाग लिनलाई कुनै पनि शुल्क नलाग्ने आयोजकले बताएको छ । अडिसन राउण्ड सकेपछि अर्को दोस्रो राउण्डको लागि भने मिति तय नभइसकेको आयोजकले जनाएको छ । भैरहवाको जेसिस किन्डर गार्डेन हाइस्कुलमा नेपाल आइडल युनिटले चैत ११ गते अडिसन लिएको थियो । त्यसैगरि वैशाख ३ गते हेटौंडाको सिद्धार्थ सेकेन्डरी स्कुलमा अडिसन लिएको नेपाल आइडल युनिटले वैशाख ८ गते धरानको विष्णु मेमोरियल हाइयर सेकेन्डरी स्कुल वैशाख १४ गते पोखराका संगीतप्रेमीले श्री जनप्रिय सेकेन्डरी स्कुलमा सम्पन्न गरिसकेको छ । अडिसन राउन्डमा चित्तबुझ्दो स्वर भएका सहभागीलाई निर्णायकले काठमाण्डौं बोलाउने छन् । काठमाडौंमा विभिन्न राउन्ड हुँदै नेपाल आइडल युनिटले सिजन–२ को आइडल छान्नेछ । सिजन–२ मा पनि पुरानै निर्णायक दोहोरिएका छन । गतवर्ष न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक थिए । कार्यक्रम सञ्चालक रिमा विश्वकर्मा र सुशील नेपालमध्ये एक जनालाई परिवर्तन गरिएको छ । नायिका रिमा विश्वकर्मा यथावत् रहेपनि सुशील नेपाल भने सिजन–२ मा देखिने छैनन् । नेपाललाई आसिफ शाहले रिप्लेस गरेका छन् । आसिफ यही वर्ष प्रदर्शनमा आएको चलचित्र ‘२–रुपैयाँ’ का नायक समेत हुन् । आसिफ म्युजिक भिडियो निर्देशकसँगै गायक र टेलिभिजन कार्यक्रम प्रस्तोता पनि हुन् । हजारौं प्रतिस्पर्धीबाट सिजन–१ को नेपाल आइडल साढे ४ करोड भोट पाएर पोखराका बुद्ध लामा बन्न सफल भएका थिए । आयोजकका अनुसार ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ मत लामाले पाएको थियो । जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै पहिलो नेपाल आइडल लामाले जितेका थिए । फष्ट रनरअप मोरङका निशान भट्टराई हुँदा सेकेन्ड रनरअपमा ललितपुरका प्रताप दासले बाजी मारेका थिए । उपाधिसँगै लामाले २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी १०० गाडी पाएका थिए । साथै १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट दिने नेपाल आइडलले जनाएको थियो । यद्यपि लामाले केही दिन अगाडि आफूलाई नेपाल आइडलले गाडी नदिएको भन्दै सञ्चारमाध्यमसँग गुनासो गरेका थिए । निशानले १५ लाख रुपैयाँ नगद पाउँदा प्रतापले १० लाख रुपैयाँमा चित्त बुझाएका थिए । फाइनल कतारको राजधानी दोहामा भएको थियो । यो वर्ष भने फाइनल नेपालमै हुने बताइएको छ। यो वर्षको नेपाल आइडलले भने गाडी पुरस्कार नपाउने भएका छन् । प्रवन्ध निर्देशक पौडेलले भने, ‘गाडी दिँदा समस्या भयो । यो वर्षबाट हामी गाडिको सट्टा पैसा नै दिने छौं । ५० हजार नगद, एल्बम र वल्र्ड टुर गरिदिने छौं ।’ गत वर्षझैं यो वर्ष पनि एमएमएस र मोवाइल एप भोटिङका आधारमा नेपाल आइडलको विजेता छनोट गरिने नेपाल आइडलले जनाएको छ । शो एपीवान टेलिभिजनले प्रशारण गर्नेछ । कार्यक्रम झण्डै ६ महिना सञ्चालन हुनेछ । नेपाल आइडल नेपालमा सञ्चालन भएको अहिलेसम्मकै ठूलो सांगीतिक रियालिटी शो समेत हो ।