फक्ताङ्लुङमा पहिरोको जोखिमपछि स्थानीय सरकार सक्रिय, प्रभावित परिवार सुरक्षित स्थानमा 0 Shares ताप्लेजुङ, साउन २ — लगातार परेको वर्षाका कारण फक्ताङ्लुङ गाउँपालिका–३ लिङखिम (दिबुङ) मा एक घर उच्च जोखिममा परेको छ। घरछेउको जमिन बग्न थालेपछि स्थानीय सरकारले प्रभावित परिवारलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ। गाउँपालिकाका अनुसार साउन १ गते रातिदेखि परेको अविरल वर्षाका कारण स्थानीय बासिन्दा नरबहादुर लिम्बुको घर आसपासको जमिन बगेर जोखिमपूर्ण अवस्था सिर्जना भएको हो। सम्भावित मानवीय क्षति हुन नदिन प्रभावित परिवारलाई अस्थायी रूपमा सुरक्षित स्थानमा सार्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ। घटनास्थलमा गाउँपालिकाका कार्यपालिका सदस्य तथा वडा नं। ३ का वडा अध्यक्ष आइत राम लिङखिमको नेतृत्वमा जनप्रतिनिधि र सरोकारवाला निकायको टोली खटिएको छ। टोलीले जोखिमको अवस्था निरन्तर अनुगमन गर्दै आवश्यक व्यवस्थापन तथा समन्वय गरिरहेको जनाइएको छ। स्थानीय सरकारले प्रभावित परिवारलाई आवश्यक राहत, संरक्षण तथा थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ। साथै जोखिमको अवस्था थप मूल्याङ्कन गर्दै आवश्यक परे थप सुरक्षा उपाय अपनाइने जनाएको छ। गाउँपालिकाले विपद्को समयमा सबै स्थानीयवासीलाई सतर्क रहन, जोखिमयुक्त स्थानमा नबस्न, आवश्यक परे सुरक्षित स्थानमा सर्न तथा सम्बन्धित निकायसँग निरन्तर सम्पर्कमा रहन आग्रह गरेको छ। स्थानीय सरकारले नागरिकको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै प्राकृतिक विपद्को प्रत्येक चुनौतीमा प्रभावित नागरिकको साथमा रहने प्रतिबद्धता दोहोर्याएको छ।