चौथो बज्र गुरु मन्त्र जप हुने, ६० प्रतिशत तयारी पुरा प्रकाशित मिति : 7 February, 2023 8:01 pm फूर्बा शेर्पाताप्लेजुङ । ताप्लेजुङमा चौथो बज्र गुरु मन्त्र जप हुने भएको छ । ताप्लेजुङको सुकेटार स्थित सिरेटो हिल रिसोर्टमा फागुन १५ गते देखि सुरु हुन लागेको हो । विश्व शान्ति तथा समस्त प्राणीहरूको हितार्थका लागि गर्न लागिएको उक्त बज्र गुरु कार्यक्रमको अहिले सम्म ६० प्रतिशत तयारी पुरा भएको बज्र गुरु मन्त्र जप मूल आयोजक समिति सदस्य सचिव पासाङ रिता शेर्पाले जानकारी दिएका छन् । उनका अनुसार लामा गुरु र भक्तजनहरू बस्ने हलको तयारी भइरहेको र किचन निर्माणको कार्य पनि भइरहेको छ । बज्र गुरु मन्त्र जममा परम पूजनीय लामा जोपा रिन्पोछे ज्यूबाट आर्य आवलोकितेश्वरको अभिषेक साथै गुरु पद्यसम्भव, आर्य आवलोकितेश्वर र आर्य तारा मन्त्रको आगमन प्रदान गरिने बताइएको छ । मन्त्र जप कार्यक्रमका लागि अहिले सम्म व्यवस्थापनका लागि ७ वटा बौद्ध धर्म, जातीय संस्था साथै विभिन्न पालिकाका नेपाल शेर्पा संघका पदाधिकारी तथा सदस्यहरू गरी जम्मा २५० भन्दा बढि जनशक्ति खटाइरहेको शेर्पाले बताए । २०७३ साल देखि प्रत्येक वर्ष हुँदै आएको बज्र गुरु मन्त्र जप कोरोना महामारीका कारण लगातार तीन वर्ष पछि यो वर्ष हुन लागेको हो । यस अघि भएको उक्त प्रत्येक मन्त्र जप कार्यक्रमहरूमा एक करोड २० लाख बढिको खर्च भएको थियो । यो वर्ष पनि सोही हाराहारीमा नै खर्च हुने अनुमान गरिएको छ । उक्त खर्च भने विभिन्न संघसंस्था तथा व्यक्तिहरूको आर्थिक सहयोगमा हुने बज्र गुरु मन्त्र जप कार्यक्रम आयोजक समितिले जनाएको छ । मन्त्र जप फागुन १७ गते सम्म सञ्चालन हुने छ ।