पाथीभरा मन्दिरमा ‘लिफ्टिङ’ प्रविधिबाट पुग्यो पानी

ताप्लेजुङ । पाथीभरा मन्दिरमा ‘लिफ्टिङ’ प्रविधिबाट लगिएको पानी खसेको छ । तीन हजार सातसय ९४ मिटर उचाईमा रहेको पाथिभरा मन्दिरमा फुङलिङ नगपालिका वडा नं. ११ फावाखोलाको डढेले मुहानबाट काफ्लेपाटी हुँदै लगिएको पानी मंगलबार बिहान उक्त क्षेत्रमा रहेको ट्याङ्कीमा खसाइएको हो ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले पाथीभरा मन्दिर क्षेत्रमा रहेको लिफ्टिङ प्रविधिको पानी सञ्चित गर्ने अन्तिम ट्याङ्की सम्म पानी पुगेको बताए । यो साता गरिएका सबै प्रयास सार्थक बनेपछि अन्ततःपानी मन्दिर सम्म पुगेको उनले जानकारी दिए ।

यो सँगै लामो समयदेखि पाथीभरा मन्दिर क्षेत्रमा पानी पुर्‍याउने कार्यको प्रारम्भिक परीक्षण भएको पाथीभरा मन्दिर क्षेत्रमा रहेका निर्माण कम्पनी प्रेरा विष्णु जेभीका स्थानीय प्रतिनिधि खड्गबहादुर थापाले जानकारी दिए । डढेले मुहानको पानी सञ्चित गर्न काफ्ले पाटीमा प्रमुख (इन्टेक) ट्याङ्की निर्माण भएको छ ।

काफ्लेपाटीबाट बलुडाँडा, माथिल्लो फेदी, दोबाटो, नयाँपाटीमा निर्माण भएका ट्याङ्की हुँदै लिफ्टिङ प्रविधिमार्फत पाथीभरा मन्दिरमा पानी पुग्ने प्रबन्ध गरिएको छ । काफ्लेपाटी सहित ६ वटा ट्याङ्कीमा ५ वटा स्टेशनमार्फत लिफ्टिङ प्रविधिमार्फत पानी पम्पिङ गरेर मन्दिरतर्फ लगिने प्रबन्ध अनुसार काम अघि बढेको थियो ।

२०७७ साल असोज १८ गते सञ्चालन सम्झौता भएर अघि बढेको यो आयोजना अन्तत पूरा भएको छ । लिफ्टिङ प्रविधिमार्फत प्रतिघण्टा ३० हजार लिटर पानी मन्दिरमा झार्ने प्रक्षेपण रहेको छ । यो आयोजना कूल ८ करोड २२ लाख १६ हजार ३ सय ६० रुपैयाँ लागतको हो ।


प्रतिक्रिया दिनुहोस्