कृष्णलीला नचले पुष्प खड्काले पारिश्रमिक फिर्ता गर्ने
काठमाडौं । अभिनेता पुष्प खड्काले आफू अभिनित फिल्म ‘कृष्णलीला’ यदि बक्स अफिसमा सफल नरहे पारिश्रमिक फिर्ता गर्ने घोषणा गरेका छन् ।
आजबारदेखि प्रदर्शन हुन गइरहेको फिल्मबारे कुरा गर्दै उनले भने, ‘यदि फिल्म चलेन भने आफूले पाएको पारिश्रमिकको निश्चित प्रतिशत रकम फिर्ता गर्छु ।’
उनले दुई कारण पारिश्रमिक फिर्ता गर्न तयार भएको बताए । ‘सबैभन्दा मार निर्मातालाई पर्ने हो । फिल्म क्षेत्र निर्माताबिना अधुरो छ,’ उनले भने, ‘अर्को कुरा, लकडाउनको समयमा चलचित्र क्षेत्र फ्रिज थियो । त्यतिबेला निर्माता रोहित दाइले फिल्म खेल्न प्रस्ताव राख्नुभयो । उहाँको त्यो हिम्मत देखेर म प्रभावित भएको थिएँ ।’
भावनात्मक रुपमा आफू ‘कृष्णलीला’सँग निकट भएकाले पनि पारिश्रमिक फिर्ता गर्नुपर्छ भन्ने महसुस भएको उनले बताए । दीपक वली निर्देशित फिल्ममा पुष्पले अटिजम प्रभावित रोमान्टिक युवकको भूमिका निर्वाह गरेका छन् ।