उपत्यकामा दुई साता भन्दा बढी समयदेखि उठ्न सकेन फोहोर, फैलियो दुर्गन्ध प्रकाशित मिति : 30 July, 2022 9:19 am काठमाडौं । उपत्यकामा दुई साता भन्दा बढी समयदेखि फोहोर नउठ्दा दुर्गन्ध फैलिएको छ । कलंकी सीतापाइला, बालाजु, माछापोखरी, गंगबु क्षेत्रमा मुख्य रोडवरिपरि फोहोरका डंगुर छन् । सबैभन्दा बढी कुरूप र फोहोरको डंगुर गंगबु बसपार्क क्षेत्रमा थुप्रिएको छ । त्यस्तै, महाराजगन्ज, त्रिपुरेश्वर तथा विभिन्न खोलाका करिडोर क्षेत्रमा पनि फोहोर थुप्रिँदा हिँड्डुल गर्नै असहज भइरहेको छ । सरकारी निकाय भने रमिते बनेको छ । संघ, प्रदेश र स्थानीय तीनवटै सरकारको गैरजिम्मेवारीपनका कारण समस्या देखिएको हो । नुवाकोट सिसडोल ल्यान्डफिल्ड साइटका स्थानीयले विभिन्न माग राखेर फोहोरका गाडी अवरोध गरेपछि पुनः फोहोर उठाउने कार्य रोकिएको हो । यसअघि, महानगरपालिकाले एक साताका लागि बाटो निर्माणको कार्य भइरहेकाले फोहोर नउठ्ने र सो समयसम्म घरमै फोहोर वर्गीकरण गरेर राख्न अनुरोध गरेको थियो । महानगरपालिकाले एक साता फोहोर उठ्ने सूचना जारी गर्नुभन्दा एक साताअघि नै काठमाडौं उपत्यकाका अधिकांश ठाउँमा फोहोर उठ्न छाडिसकेको थियो । गत जेठ अन्तिम साता सरकार र स्थानीयबीच सहमति भएसँगै फोहोर उठाउन थालिएको थियो । स्थानीयले जग्गा अधिग्रहण प्रक्रिया थालनी गरिनुपर्ने, फोहोर संकलन गर्दा नै कुहिने र नकुहिने फोहोर छुट्याउने र कुहिने फोहोर मल कारखानामा लैजानुपर्ने, स्थानीय समुदायको रोजगारसम्बन्धी व्यवस्था हुनुपर्ने, स्वास्थ्य बिमा व्यवस्था हुनुपर्ने, सडक स्तरोन्नति गरिनुपर्नेजस्ता माग राख्दै आएका थिए । स्थानीय माग सम्बोधन गर्नमा सरकार सकारात्मक देखिएपछि सहमति जुटेको थियो । सरकार, स्थानीय जनप्रतिनिधि तथा स्थानीयबीच सहमतिअनुसार सरकारले बाटो निर्माणलगायत धमाधम गर्दै आएको छ । फेरि कतिपय स्थानीयले भने फोहोरका गाडीका कारण दुध बोक्ने गाडीलाई समस्या भएको, बाटोमा दुर्गन्ध फैलिएको लगायत कारण देखाउँदै फोहोरका गाडी आवातजावतमा अवरोध पु¥याएका छन् । सरकारले स्थानीयको एउटा समूहसँग वार्ता सहमति गर्नेगरे पनि विभिन्न समय अलगअलग समूहले विभिन्न मागमा फोहोरका गाडी आवातजावतमा समस्या पार्ने गरेको पाइएको छ । यसअघि, गत वैशाखमा झन्डै एक महिना काठमाडौंको फोहोर उठ्न सकेको थिएन । त्यसअघि दुई साता स्थानीयले फोहोरका गाडीलाई अवरोध गरेका थिए ।