नेपालको पासपोर्ट विश्वकै कमजोर सूचीमा, सबैभन्दा बलियो जापानको प्रकाशित मिति : 21 July, 2022 10:04 am काठमाडौं । नेपालको पासपोर्ट विश्वकै कमजोर सूचीमा परेको छ । लन्डनको हेन्ली कम्पनीको अध्ययन ‘पासपोर्ट इन्डेक्स’बाट नेपालको पासपोर्ट विश्वकै कमजोर सूचीमा राखिएको हो। अध्ययनले नेपाली पासपोर्टलाई १०६ औँ स्थानमा राखिएको छ। गत वर्ष नेपालको पासपोर्ट १०९औँ स्थानमा रहेको थियो । यो अध्ययन संसारका कति मुलुकले भिसाबिनै (भिसा फ्री स्कोर) ती मुलुकमा प्रवेश गर्न दिन्छन् भन्ने आधारमा गरिएको थियो। सोहीअनुसार यो सूची तयार पारिएको हो । नेपालीको पासपोर्टले ३८ वटा मुलुकको मात्र भ्रमण गर्न मिल्छ । संसारभरिका पासपोर्टको एक सर्वेक्षणले जापानको राहदानी सबैभन्दा बलियो देखाएको छ । सिंगापुर र दक्षिण कोरिया दोस्रो तथा जर्मनी र स्पेन तेस्रो स्थानमा छन् । जापानको पासपोर्टवाहकले भिसा नलगाई संसारका १९३ मुलुकको भ्रमण गर्न पाउँछन् । दोस्रो शक्तिशाली सिंगापुर र दक्षिण कोरियाको पासपोर्टले १९२ देश र तेस्रो स्थानमा रहेको जर्मनीको राहदानीले १९० देश घुम्न सकिन्छ ।