वामपन्थी एकतामा आउन कम्युनिस्टहरुलाई ओलीको अपिल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकतामा आउन कम्युनिस्टहरुलाई अपिल गरेका छन् ।

काठमाडौंमा आयोजित नेपाल–चीन हिमालयमैत्री समाजको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सच्चा वामपन्थीहरु कांग्रेस नेतृत्वको गठबन्धन छोडेर वाम एकतामा आउनुपर्ने र मिलेर सरकार बनाउनुपर्नेमा जोड दिएका हुन् ।

उनले चौँरीको पुच्छरजस्तो कांग्रेसको पछि लाग्ने पनि वामपन्थी हुन्छ ? भन्दै प्रश्न गरेका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वाम एकता र तालमेलका लागि आग्रह गरेपछि ओलीले जवाफमा भने, ‘यदि सच्चा वामपन्थी हुनुहुन्छ भने कांग्रेसका पछाडि नलाग्नुस्, गठबन्धनका पछाडि नलाग्नुस्। एसपीपी नगर्नुस् । वामपन्थी एकतामा आउन आह्वान गर्छु ।’

ओलीले आफूहरु कांग्रेसविरोधी नभएको र देश, लोकतन्त्र, कानुनी राजको पक्षमा उभिने वाम सरकार बनाउन चाहेको बताए । ‘निष्पक्ष चुनाव गर्ने सरकार बनाउ । वामपन्थी कोही हुनुहुन्छ भने आउनुस् । रातो सेतो बर्को ओढ्ने बेग्लै कुरा हो । बर्को छोडौं । असली रुपमा आउ । वामपन्थी हुनुहुन्छ भने आउनुस् । राष्ट्रिय राजनीतिमा सहमतिका साथ जाउ,’ उनले भने ।


प्रतिक्रिया दिनुहोस्