ताप्लेजुङका नवनिर्वाचित जनप्रतिनिधिहरूको घोषणा : निशुल्क स्वास्थ्य बिमादेखि हटियामा कर हटाउनेसम्म

ताप्लेजुङ । गत बैशाख ३० गते सम्मन्न भएको स्थानीय तहको निर्वाचन पछि ताप्लेजुङका सम्पूर्ण स्थानीय तहहरूले अबको ५ वर्ष सम्मका लागि नयाँ जनप्रतिनिधिहरू पाएको छ ।

यो सँगै ताप्लेजुङका नवनिर्वाचित जनप्रतिनिधिहरूले आफ्नो कार्यभार सम्हाल्न थालेका छन् । यसैक्रममा उक्त जनप्रतिनिधिहरूले आफ्नो नगर, गाउँपालिका र वडाका हितका लागि घोषणाहरू गर्न थालेका छन् ।  

ताप्लेजुङको फुङलिङ नगरपालिकाका नवनिर्वाचित नगर प्रमूख अमिर मादेनले २०७९ श्रावण १ गतेदेखि हटियामा लगाइएको कर हटाउने जानकारी गराएका छन् ।

यस्तै सदरमुकामसँग जोडिएका वडाका मुख्य सडकको स्तरोन्नति गरि बाह्रै महिना गाडी गुड्न मिल्ने गरि काम गर्ने भएका छन् । नगरमा विगतका जनप्रतिनिधिले गरेका राम्रा कामको निरन्तरता र नयाँ तथा रचनात्मक कामलाई प्राथमिकता दिइने पनि बताएका छन् । 

फत्ताङलुङ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राजन लिम्बू (मुक्ति)

फत्ताङलुङ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राजन लिम्बू (मुक्ति) ले पनि हाल गाउँपालिकाको गाडीलाई तत्काल एम्बुलेन्सका रुपमा प्रयोग ल्याउने बताएका छन् । गाउँमा बिरामी भएर स्थानीयले अकाल मै ज्यान गुमाएको देखेकोले उक्त अवस्थाको अन्त्य गर्न पालिकाको गाडी स्थानीयको हितका लागि प्रयोग गर्ने उनले बताए । साथै उनले गाउँबासीलाई वृद्ध भत्ता घर घर पुर्‍याइने बताएका छन् ।

आठराई त्रिवेणी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिपेन पोमू

यस्तै आठराई त्रिवेणी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिपेन पोमूले गाउँपालिका भरिका नागरिकलाई विद्युत महशुल छुट गर्ने घोषणा गरेका छन् । उनले आगामी आर्थिक वर्षबाट यो कार्यक्रम लागू गर्ने निर्णय गरेका हुन् ।

पालीका भित्रका नागरिकले सामान्य विजुलीको बिल तिर्नको लागि जिल्ला सदरमुकाम फुङलिङ पुग्नु पर्ने वाध्यता रहेको भन्दै त्यसबाट छुटकारा गराउन यस्तो निर्णय गरेको उनले बताए । यस्तै विद्युतिकरण हुन बाँकी रहेको गाउँमा पनि चाँडै विद्युत पु¥याउने बताए । अध्यक्ष पोमूका अनुसार सरकारी कार्यालय, उद्योग र संघसंस्था बाहेकको विद्युत महशुल छुट हुनेछ ।

मैवाखोला गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष विजय प्रकाश वनेम

मैवाखोला गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष विजय प्रकाश वनेमले पनि पालिका स्तरीय सडकलाई आगामी ३ वर्षभित्र ग्राभेल गरिसक्ने निर्णय गरेका छन् । उनले सामाजिक सुरक्षा भत्ता सम्वन्धित वडा कार्यालयबाटै प्रदान गर्ने व्यवस्था मिलाउने घोषणा पनि गरेका छन् । 

फुङलिङ नगरपालिका वडा नं ८ का वडाध्यक्ष क्षितिज सुनुवार

त्यस्तै फुङलिङ नगरपालिका वडा नं ८ का वडाध्यक्ष क्षितिज सुनुवारले वडाका विपन्न नागरिकको निशुल्क स्वास्थ्य विमा गरिदिने घोषणा गरेकाछन् । उनले वडाध्यक्षका रुपमा आफूले प्राप्त गरेको मोटरसाईकल प्रयोग नगर्ने पनि बताएका छन् । वडाले प्राप्त गरेको सो मोटरसाईकल नगरपालिकामा बुझाएको समेत उनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्