धनगढी उपमहानगरको नयाँ मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी प्रकाशित मिति : 22 May, 2022 8:28 am काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । आइतबार बिहान सार्वजनिक अन्तिम परिणाम अनुसार हमालले सत्ता गठबन्धनतर्फका नेपाली काँग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै मेयर बनेका हुन् । हमाल २६ हजार ४४३ मतसहित विजयी हुँदा निवर्तमान मेयर समेत रहेका वडले १४ हजार १४६ मत पाए । हमाललाई राप्रपा र विवेकशील साझाले समर्थन गरेका थिए भने काँग्रेसका वडलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ थियो । तर हमालले वडलाई १२२९७ मतान्तरले पराजित गरेका हुन् । ०७४ को निर्वाचनमा वडसँग हमाल २७९७ मतले पराजित भएका थिए । वडले १४३२४ मत ल्याँदा हमालको ११ हजार ५ सय २७ मत मात्र आएका थियो । गठबन्धनको साथ हुँदा पनि यसपटक वडले ०७४ मा पाएको मतभन्दा १७८ मत कम पाए । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गृह प्रदेश धनगढीमा हमाल निर्वाचित काँग्रेसलाई ठूलो धक्का लागेको छ । देउवा पत्नी तथा काँग्रेस नेतृ डा। आरजु राणाको निर्वाचन क्षेत्र रहेको हमालको जित संघीय चुनावका लागि थप चुनौती बनेको छ । राणा गत निर्वाचनमा एमाले उम्मेदवार नारदमुनी रानासँग पराजित भएकी थिइन् ।