आफूले जितेको सुन्नै नपाई बिते अटलबहादुर मगर

काठमाडौ । धनकुटाको चौबीसे गाउँपापलिका २ को वडा सदस्य पदमा आफू पुनः विजयी बनेको खबर सुन्न नपाई ५२ वर्षीय अटलबहादुर सुर्जे मगरको निधन भएको छ । मधुमेह र उच्च रक्तचापका बिरामी उनको मष्तिष्कघातका कारण निधन भएको हो । यसअघि पनि एमालेबाट वडा सदस्य निर्वाचित भइसकेका मगरले यसपटक पनि ७९२ मत सहित जित दर्ता गरेका थिए । तर, जितको खबर भने सुन्नै नपाई उनको निधन भयो ।

‘बुबालाई जित्दैछु भन्ने त थाहा थियो’, उनका छोरा मदनले भने, ‘जितेको खबर सुन्नचाहिँ पाउनु भएन ।’ उनले लगभग हजार मतको नतिजा सुनिसकेका थिए । चार सय हाराहारी मतको नतिजा आउन बाँकी थियो । शनिबार साँझ ६ बजेतिर मतागणनास्थलमै अचानक स्वास्थ्य समस्या आएपछि उनलाई उपचारका लागि धरान लगिएको थियो ।

तर, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइसियु खाली नरहेको बताएपछि विराटनगर लगिएको छोरा मदनले बाताए । विराटनगरको नोबेल अस्पतालमा पुर्‍याएपछि राति एक बजे उनलाई चिकित्सकले मृत घोषणा गरे । गणनास्थलमा बसिरहेका बेला पसिना आउने, काम्ने बान्ता आउने भयो,’ मदनले भने, ‘त्यत्तिकैमा उहाँ बेहोस हुनुभयो । त्यसपछि होस आएन ।’ मगरका दुई छोरा र पत्नी छन् ।


प्रतिक्रिया दिनुहोस्