आयोगले सोध्यो पाँच पत्रकार संगठनका अध्यक्षहरुलाई स्पष्टीकरण, विज्ञप्ति हटाउन निर्देशन प्रकाशित मिति : 9 May, 2022 9:49 am काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ दल निकटका पाँच पत्रकार संगठनका अध्यक्षहरुलाई स्पष्टीकरण सोधेको छ । आचारसंहिता उल्लंघन गरेको आरोपमा आयोगले उनीहरुलाई स्पष्टीकरण सोधेको हो । आयोगले नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठ, प्रेस मञ्च नेपालका अध्यक्ष केशव अर्याल र प्रगतिशील पत्रकार संघ नेपालका सचिव श्यामलाल पोखरेललाई स्पष्टीकरण सोधेको हो । निर्वाचन आयोगले जारी गरेको बुलेटिन अनुसार, उनीहरुलाई २४ घण्टाभित्र जवाफ दिन भनिएको छ । ती पाँच संगठनका अध्यक्षले एक संयुक्त विज्ञप्ति जारी गरी सत्तारुढ गठबन्धनमा आवद्ध दलका उम्मेदवारहरुलाई मतदान गर्न आह्वान गरेका थिए । आयोगले विज्ञप्ति हटाउन समेत उनीहरुलाई निर्देशन दिएको छ ।