स्थानीय निर्वाचन : ताप्लेजुङमा ८ सय ७१ जनाले दिए उम्मेदवारी 

ताप्लेजुङ । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङका स्थानीय तहमा मेयर उपमेयर, अध्यक्ष र उपाध्यक्षसहित तीन सय ४२ जना जनप्रतिनिधि चयन हुनुपर्ने ठाउँमा ८ सय ७१ जनाको उम्मेदवारी परेको छ।

ताप्लेजुङ जिल्लामा एक नगरपालिका र ८ गाउँपालिका गरी जम्मा ९ वटा स्थानीय तहहरु रहेका छन् । उक्त स्थानीय तहमा अध्यक्ष र उपाध्यक्षपदका लागि जम्मा ८ सय ७१ जनाले उम्मेदवारी दिएका छन् । ३ सय ४२ जना जनप्रतिनिधि चयन हुनुपर्ने ठाउँमा उक्त सङ्ख्याको उम्मेदवारी परेको हो । 

जसमा फुङलिङ नगरपालिकामा ६० सदस्यीय नगरसभाका लागि १ सय ८२ जनाले उम्मेदवारी दिएका छन् । आठराइ त्रिवेणी गाउँपालिकामा २९ सदस्यीय गाउँसभाका लागि ६२ जनाको उम्मेदवारी परेको  छ । फक्ताङ्लुङ गाउँपालिकाको ३९ सदस्यीय गाउँसभामा ९७ जनाको उम्मेदवारी परेको छ। मिक्वाखोला गाउँपालिकामा २९ सदस्यीय गाउँसभामा ७१ जनाले उम्मेदवारी दिएका हुन् । 

यस्तै मेरिङ्देन गाउँपालिकाको ३४ जनाको गाउँसभामा ७७ जनाले उम्मेदवारी दिएका छन् । ३४ जनाकै गाउँसभा रहेको मैवाखोला गाउँपालिकामा ७२ जनाको उम्मेदवारी परेको छ । ३४ जनाकै गाउँसभा रहेको पाथीभरा याङ्वरक गाउँपालिकामा कूल ८९ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

सिदिङ्वा गाउँपालिकामा कूल ३९ सदस्यीय गाउँसभाका लागि १ सय १० जनाको उम्मेदवारी परेको छ ।  यस्तै  ४४ सदस्यीय गाउँसभा रहेको सिरिजङ्गा गाउँपालिकामा कूल १ सय ११ जनाको उम्मेदवारी परेको छ ।


प्रतिक्रिया दिनुहोस्