गठबन्धनबीच सहमति नजुटेपछि उदयपुरका २ नगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसले छुट्टै उम्मेदवारी दिने प्रकाशित मिति : 22 April, 2022 8:04 pm काठमाडौं । गठबन्धनबीच सहमति नजुटेपछि उदयपुरका दुइटा नगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसले छुट्टै उम्मेदवारी दिने निर्णय गरेको छ । शुक्रबार बसेको गठबन्धनको बैठकले जिल्लाको चौदण्डीगढी नगरपालिका र त्रियुगा नगरपालिकामा कांग्रेसले छुट्टै उम्मेदवार र बाँकी चार दलले साझा उम्मेदवार उठाउने सहमति जुटेको हो । त्रियुगा नगरपालिकाको हकमा भने हिजै बसेको बैठकमा सहमति जुटेको थियो । त्रियुगामा पनि कांग्रेसले छुट्टै र चार दलले साझा उम्मेदारी दिने भनिएको छ । उदयपुरमा चार नगरपालिका र चार गाउँपालिका गरी आठ वटा स्थानीय तह छन् । बाँकी ६ वटा स्थानीय तहको हकमा भने सहमति जुट्न सकेको छैन । छलफलमा सहभागी एक नेताले माओवादीले चारमध्ये एउटा नगरपालिकामा दाबी गरेको तर कांग्रेसले दिन नमानेका कारण सहमति जुट्न नसकेको जनाए ।