भरतपुर नै चाहिने, रेनु नै चाहिने भन्ने छैन, ६ वटामा एउटा त माओवादी केन्द्रलाई पर्ला नि ! : प्रचण्ड प्रकाशित मिति : 18 April, 2022 2:49 pm काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रलाई भरतपुरकै मेयर चाहिने भन्ने नभएको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले गठबन्धनमा ६ वटा महानगरमध्ये एउटा माओवादी केन्द्रलाई पर्नु पर्ने बताएका हुन् । ‘भरतपुर नै चाहिने, रेनु नै चाहिने भन्ने छैन । गठबन्धनमा ६ वटामा एउटा त माओवादी केन्द्रलाई पर्ला नि ! काठमाडौंमा दिए नि ठिक, विराटनगर दिए नि ठिक, भरतपुर हुन्न भन्ने भए पनि सहमत,’ उनले भने । भरतपुरमा माओवादी केन्द्रले जितिरहेको भन्दै उनले कांग्रेसले पनि माओवादी केन्द्रलाई नै दिनुपर्छ भनिरहेको बताए । तर, केही(केहीलाई मात्र त्यस्तो नलागेको हुन सक्ने उनले बताए । प्रचण्डले एमाले र राप्रपाप्रति इंगित गर्दै भने, ‘एउटा गठबन्धन होली(वाइन वाला र राजावादी प्रतिगामीहरुको अर्को गठबन्धन संविधान रक्षा गर्नेहरुको हो ।’ प्रचण्डले शेरबहादुर देउवा नेतृत्वको सरकार र गठबन्धन संविधान रक्षा गर्न बनेको समेत दावी गरे ।