ताप्लेजुङ सरोकार केन्द्रद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्रले नव वर्ष २०७९ सालको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार होटल हार्दिक, बागबजारको सभाहलमा काठमाडौँमा बसोबास गर्ने ताप्लेजुङ बासीहरुको भव्य उपस्थितमा संघीय सांसद योगेश कुमार भट्टराईको प्रमुख आतिथ्यमा उक्त शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि योगेश कुमार भट्टराईले आमनिर्वाचन लोकतन्त्रको महायज्ञ भएको हुँदा सम्पूर्ण नागरिकहरूलाई जनप्रतिनिधि छनौट गर्न आगामी स्थानीय तहको निर्वाचनमा होमिन आग्रह गरे । नागरिकहरू आफूलाई मन पर्ने पार्टीमा आबद्ध हुने नैसर्गिक अधिकार भएको हुँदा आमनिर्वाचनलाई सही सदुपयोग गर्न आग्रह समेत गरे ।

उनले राजनीतिक परिवर्तन प्राप्त भइसकेकोले अव जनप्रतिनिधिहरू र नागरिकहरू विकासका एजेण्डामा लाग्नुपर्ने, विकासको खाँका कोर्न उचित जनप्रतिनिधि छनौट गरी दिगो विकास सम्भव हुने हुँदा सो तर्फ ताप्लेजुङ सरोकार केन्द्र र ताप्लेजुङका विभिन्न सङ्घसंस्थाहरूले आवश्यक सहयोग गर्नुपर्ने सुझाव समेत दिए ।

ताप्लेजुङका सबै सामुदायिक विद्यालयहरूको विकासमा पूर्व विद्यार्थी क्लब गठन गरी परिचालन गरी देश विदेशका अनुभव तथा सहयोग परिचालन गर्न सकिने भएको हुँदा सो तर्फ केन्द्र तथा संघ संस्था लाग्नुपर्ने सुझाव समेत दिए ।

यस कार्यक्रममा डा। सुरेन्द्र के।सी।ले पार्टी संस्कार गलत भएको, पार्टीहरूले सैद्धान्तिक तथा रणनीतिक दिग्भ्रमित भएको हुँदा देशले मान सम्मान गुम्दै गएको, देशको अवस्था कम्जोर भएको औल्याएका थिए ।

ताप्लेजुङ समाजका महासचिव अग्नी पौडेलले केन्द्र र समाज दुई भिन्न संस्था विशेष कारणबाट भए पनि एकाकार हुनुपर्ने र सो बाट ताप्लेजुङवासीको लागि राम्रो हुने औँल्याए ।

उक्त कार्यक्रममा ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष श्री चित्र गुप्त साँवाले ताप्लेजुङ सरोकार केन्द्र संस्था विभाजनको किमार्थ स्वीकार गर्न सक्दैन बरु संस्थामा हदैसम्मको लचिलो भई मार्ग प्रशस्त गर्न हरदम तयार रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्