नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा तालमेल गर्ने, अन्योल अन्त्य

काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा चुनावी गठबन्धनलाई लिएर केही समययता देखा परेको अन्योलको अन्त्य भएको छ । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेसँगै चुनावी गठबन्धनको अन्योल अन्त्य भएको हो ।

अब स्थानीय आवश्यकता र परिस्थितिको मूल्यांकन गरेर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले उम्मेदवार चयन गर्नेछन् ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत भन्छन्, ‘केन्द्रीय समिति र शीर्ष नेताहरुको बैठकबाट स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने निर्णय भएको छ । यसले एक खालको अन्योल चिरेको छ ।’

कांग्रेस नेताहरुका अनुसार, सत्ता गठबन्धनका शीर्ष नेताहरुले कांग्रेसले तय गरेको चुनावी तालमेल मोडलबारे टुंगो लगाउँछन् । त्यसपछि चुनावी तालमेलको विषयले गठबन्धनबाटै औपचारिकता पाउनेछ ।

‘गठबन्धनमा रहेका दलहरुसँग तालमेल गर्ने नीतिगत निर्णय भयो । व्यवहारमा कसरी कार्यान्वयन कसरी गर्ने भन्ने सम्बन्धमा केन्द्रमा, प्रदेशमा र जिल्ला तहमा संयन्त्र बन्छ’, कांग्रेस प्रवक्ता डा। महत भन्छन् ।

तर, त्यो संयन्त्र कस्तो हुने भन्ने विषयमा कांग्रेसले केही भनेको छैन् ।


प्रतिक्रिया दिनुहोस्